नयाँ कार्यसमिति चयनका लागि आज मतदान, ७ हजार ३१७ प्रतिनिधिले मत हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज शुक्रबार मतदान हुँदैछ । बिहीबारका लागि तय गरिएको मतदान आवश्यक तयारी पूरा नभएको भन्दै आजका लागि सारिएको हो ।

निर्वाचन समितिले आज बिहान ७ बजेदेखि मतदान सुरु हुने जनाएकाे छ । आवश्यक तयारी पूरा भए पनि साँझ मतदान सुरु गर्दा रातिको समयमा मतदातालाई कठिन हुने भएकाले बिहानदेखि मतदान गर्ने निर्णय गरिएको हाे । 

महाधिवेशनमा ७ हजार ३१७ जना प्रतिनिधि सहभागी छन् । प्रत्येक प्रतिनिधिले २३ वटा मतपत्रमा मतदान गर्नुपर्नेछ । मतदानस्थल निर्माणमा संलग्न व्यक्तिहरूका अनुसार एक जनालाई मतदान गर्न करिब ३० मिनेट लाग्ने अनुमान छ ।

बिहान ७ बजेदेखि मतदान सुरु भए दिउँसो ३ बजेसम्म सम्पन्न हुने निर्वाचन समितिको अनुमान छ ।

निर्वाचन समितिले मतदानका लागि प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र खुलामञ्चमा मतदान केन्द्र स्थापना गरेको छ । राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् ।

खुलामञ्चमा भने बाँकी छ प्रदेशका साथै विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।

खुलामञ्चस्थित तराई–मधेश हलमा कोशी र मधेश प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । हिमाल हलमा गण्डकी प्रदेशका प्रतिनिधिका लागि मतदानको व्यवस्था गरिएको छ । त्यस्तै, पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै जनसम्पर्क समितिबाट आएका प्रतिनिधिले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।

मतदानअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ । रुजु प्रक्रिया पूरा भएपछि मात्रै मतदान गर्न दिइने समितिले जनाएको छ ।

मतदान सम्पन्न भएपछि मतपेटिका सङ्कलन गरी ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा लगिने र त्यहीँ मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।

Share News