कृति अवार्ड्सको १३औं संस्करण औपचारिक रूपमा सुरु

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औं कृति अवार्ड्स २०८३ को औपचारिक सुरुवात गरिएको छ । काठमाडौंमा आयोजित विशेष कार्यक्रम ‘कृति इग्नाइट’मार्फत अवार्ड्सको उद्घाटन गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विज्ञापन तथा सञ्चार क्षेत्रका साथै विभिन्न उद्योग तथा व्यवसाय क्षेत्रका प्रतिनिधिको सहभागिता थियो ।

नेपाली विज्ञापन तथा सञ्चार क्षेत्रमा सिर्जनशीलता र उत्कृष्टताको सम्मान गर्दै आएको कृति अवार्ड्सको यस वर्षको संस्करणलाई विभिन्न व्यावसायिक तथा नियामक संस्थाले समर्थन गरेका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल सरकारको विज्ञापन बोर्डले अवार्ड्सलाई समर्थन गरेका छन् ।

त्यस्तै, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान), सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), रेडियो ब्रोडकास्टर्स फोरम, नेपाल मिडिया सोसाइटी र मिडिया एलायन्स नेपाल यस वर्षदेखि कृति अवार्ड्सका सह–आयोजकका रूपमा जोडिएका छन् । 

आयोजकका अनुसार यसपटक आनका गैरसदस्यका लागि समेत मनोनयन खुला गरिएको छ ।

विभिन्न व्यावसायिक तथा सञ्चार क्षेत्रका संस्थाको सहभागिताले अवार्ड्सलाई थप व्यापक र समावेशी बनाउने आयोजकको अपेक्षा छ । 

यसबाट नेपाली विज्ञापन तथा सञ्चार उद्योगमा सिर्जनशीलता र व्यावसायिक उत्कृष्टतालाई थप प्रोत्साहन पुग्ने विश्वास लिइएको छ ।

‘कृति इग्नाइट’ कार्यक्रममा नेपाली विज्ञापन तथा आमसञ्चार क्षेत्रको विकासक्रम झल्काउने श्रव्यदृश्य सामग्रीसमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा आनका पूर्वअध्यक्ष, कृति अवार्ड्सका प्रवर्द्धक तथा मिडिया एलायन्स नेपालका संस्थापक अध्यक्ष भाष्करराज राजकर्णिकारले स्वागत मन्तव्य राखेका थिए । 

१३औं कृति अवार्ड्सका शीर्ष प्रायोजक सारस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिवाल र विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

आनका अध्यक्ष सुदीप थापाले धन्यवाद ज्ञापन गरेका थिए ।

आयोजकका अनुसार कृति अवाड्र्स २०८३ अन्तर्गत नेपाली विज्ञापन तथा सञ्चार क्षेत्रमा उत्कृष्ट सिर्जना र योगदानलाई सम्मान गर्ने प्रक्रिया अब अघि बढ्नेछ ।

Share News