काठमाडौं । रूसको इर्कुत्स्क क्षेत्रमा प्लेगको शंकास्पद घटना देखिएपछि नेपालले पनि अवस्थाको निगरानी थालेको छ ।
इर्कुत्स्कमा देखिएको शंकास्पद प्लेगसम्बन्धी घटनालाई अन्तर्राष्ट्रिय रूपमा निगरानी गरिरहेका बेला नेपालले भने हाल देशबाहिरबाट प्लेग फैलिने जोखिम अत्यन्त न्यून रहेको जनाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक सूचना जारी गर्दै उपलब्ध सूचनाका आधारमा नेपालमा यस विषयमा अनावश्यक चिन्ता वा त्रास लिन आवश्यक नरहेको जनाएको हो । महाशाखाका अनुसार नेपालले अवस्थाको निरन्तर निगरानी गरिरहेको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित स्वास्थ्य डेस्कलाई उच्च सतर्कतामा राखिएको छ ।
त्यस्तै, नेपालमा प्लेगको परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा आवश्यक सुविधा उपलब्ध रहेको महाशाखाले जनाएको छ । सम्भावित संक्रमित भेटिएमा उपचारका लागि आवश्यक स्वास्थ्य सेवा पनि नेपालमा उपलब्ध रहेको जनाइएको छ । महाशाखाले प्लेगसम्बन्धी सूचना तथा अवस्थाबारे आधिकारिक स्वास्थ्य निकायबाट जारी हुने जानकारीलाई मात्र आधार मान्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
रूसको इर्कुत्स्क क्षेत्रमा देखिएको शंकास्पद घटनालाई लिएर सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलिन सक्ने अपुष्ट सूचनाका कारण अनावश्यक त्रास उत्पन्न हुन सक्ने भन्दै स्वास्थ्य निकायले आधिकारिक सूचनालाई प्राथमिकता दिन आग्रह गरेको हो ।
ईडीसीडीले नेपालमा हाल प्लेगको जोखिम अत्यन्त न्यून रहेको स्पष्ट पार्दै अवस्था निरन्तर निगरानीमा रहेको जनाएको छ ।