काठमाडौं । नेपालका पाँच वटा प्रविधि संस्थाहरू प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘असोसियो डिजिटल र एआई अवार्ड २०२६’ बाट सम्मानित भएका छन् ।
एसियन-ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गानाइजेसनद्वारा इन्डोनेसियाको जकार्तामा आयोजित ‘असोसियो डिजिटल र एआई समिट २०२६’ (अक्टोबर ५-७) का अवसरमा ती संस्थाहरूलाई सो अवार्ड प्रदान गरिएको हो ।
पुरस्कृत हुने संस्थाहरूमा सनवे इन्टरनेसनल बिजनेस स्कुलले एआई ट्यालेन्ट डेभलपमेन्ट, इनसाइट टेक्नोलोजी प्रालिले एआई इन साइबर सेक्युरिटी, वाइज याक सोलुसन्स प्रालिले एआई इन हेल्थकेयर, डिभी एक्सेलस प्रालिले एआई इन स्मार्ट एग्रिकल्चर’ र अभियान्ता फाउन्डेसनले एआई इन वर्कफोर्स एण्ड फ्युचर स्किल्स विधामा अवार्ड हात पारेका हुन् ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को सिफारिसमा सहभागी यी नेपाली संस्थाहरूले २४ एसियाली-ओसियनियन देशका प्रतिनिधिहरूबिच प्रतिस्पर्धा गरी यो सफलता हासिल गरेका हुन् ।
क्यान महासंघका पूर्व अध्यक्ष एवम् असोसियोका उपाध्यक्ष नवराज कुँवर र महासचिव चन्द्र विलास भुर्तेलका अनुसार यस्ता अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त सम्मानले नेपाललाई क्षेत्रीय डिजिटल हबका रूपमा स्थापित गर्न र स्वदेशी प्रविधि कम्पनीहरूलाई विश्वव्यापी प्रतिस्पर्धामा अघि बढ्न ठूलो प्रेरणा मिल्नेछ ।