चाडपर्वमा ५० हजारभन्दा बढी प्रहरी परिचालन, ४०८ ठाउँमा यात्रु सहायता कक्ष

काठमाडौं । नेपालीका ठूला चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले विशेष सुरक्षा योजना, २०८३ लागू गरेको छ ।

बडादशैँ, दीपावली, नेपाल संवत् र छठ पर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको गुनासो व्यवस्थापन तथा जनधनको सुरक्षा गर्ने उद्देश्यले विशेष सुरक्षा योजना लागू गरिएको नेपाल प्रहरीले जनाएको छ ।

चाडपर्वका बेला ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, सट्टेबाजी, नक्कली नोटको कारोबार र अवैध हुण्डी कारोबार नियन्त्रणमा प्रहरी परिचालन गरिनेछ । अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुन सक्ने अवैध हातहतियार, पटका, विस्फोटक पदार्थ र लागूऔषधको ओसारपसार तथा तस्करी नियन्त्रणमा समेत विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । 

५० हजारभन्दा बढी प्रहरी परिचालन

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीसहित सातवटै प्रदेश प्रहरी कार्यालयबाट ५० हजार ४५८ प्रहरी जनशक्ति परिचालन हुनेछन् ।

काठमाडौं उपत्यकामा ७ हजार ६६८, कोशीमा ८ हजार १३३, मधेशमा ७ हजार २३०, बागमतीमा ४ हजार ४९९, गण्डकीमा ५ हजार १८८, लुम्बिनीमा ७ हजार ९२१, कर्णालीमा ५ हजार ३१४ र सुदूरपश्चिममा ४ हजार ५०५ जना प्रहरी परिचालन हुनेछन् ।

सुरक्षा व्यवस्थापनमा स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवाला निकायसँग सहकार्य तथा समन्वय गरिने प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार चाडपर्वमा परम्परागत सुरक्षाभन्दा प्रविधिमा आधारित सुरक्षा निगरानीलाई प्राथमिकता दिइएको छ । 

४०८ यात्रु सहायता कक्ष

चाडपर्वमा लामो दूरीका सार्वजनिक सवारीमा यात्रुको चाप बढ्ने भएकाले यात्रु तथा राजमार्ग सुरक्षालाई ध्यानमा राख्दै देशभर ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

यी सहायता कक्षमा १ हजार १६५ प्रहरी जनशक्ति परिचालन गरिएको छ । यात्रु सहायता कक्षबाट आवश्यक सूचना तथा सहायता प्रदान गर्ने, हराएका व्यक्ति तथा सामानको खोजीमा समन्वय गर्ने र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष सहायता उपलब्ध गराइनेछ ।

त्यस्तै, अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा हेल्प डेस्क स्थापना गरी थप ७०५ जना प्रहरी परिचालन गरिएको छ ।

काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनका चालकको अनुमतिपत्र, मादक तथा लागूऔषध सेवन, सिट क्षमताअनुसार यात्रु राखे–नराखेको लगायतको जाँच गरिनेछ । लामो दूरीका सवारीमा दुई जना चालक भए–नभएको र सवारीको यान्त्रिक परीक्षण प्रमाणपत्रसमेत जाँच गरिने प्रहरीले जनाएको छ । 

सीसीटीभी, ड्रोन र सामाजिक सञ्जालबाट निगरानी

चाडपर्वमा सुरक्षा निगरानीका लागि सीसीटीभी क्यामेरा, शरीरमा लगाउने क्यामेरा, ड्रोन तथा तालिम प्राप्त कुकुरको प्रयोग गरिनेछ । प्रहरी सञ्चार प्रणालीमार्फत वास्तविक समयमै सूचना आदानप्रदान गर्नुका साथै सामाजिक सञ्जालमा प्रवाह हुने सूचनाको निगरानी र विश्लेषण गरिनेछ ।

त्यस्तै, नक्कली अनलाइन किनमेल, बैंकिङ ठगी, ओटीपी, पिन तथा पासवर्ड मागेर हुने फिसिङलगायत डिजिटल अपराध नियन्त्रणमा विशेष निगरानी गरिनेछ ।

नेपाल प्रहरीले सर्वसाधारणलाई ओटीपी, पिन, पासवर्ड तथा बैंकिङसम्बन्धी गोप्य विवरण कसैलाई नदिन आग्रह गरेको छ । शंकास्पद लिङ्क, क्यूआर कोड, चिठ्ठा तथा अनलाइन चाडपर्वका अफरमा विश्वास नगर्न र कृत्रिम बुद्धिमत्ताबाट बनाइएको आवाज वा भिडियोका आधारमा तत्काल विश्वास नगर्न पनि प्रहरीले सचेत गराएको छ । 

बजारदेखि विमानस्थलसम्म विशेष निगरानी

मुख्य बजार, ठूला किनमेल केन्द्र, बैंक तथा वित्तीय संस्था, बसपार्क, सार्वजनिक यातायात केन्द्र, विमानस्थल, धार्मिक तथा पर्यटकीय स्थल, मनोरञ्जन स्थल, मुख्य सडक तथा चोक र शहरका प्रवेश तथा निकास नाकामा विशेष प्रहरी परिचालन गरिनेछ ।

सुनचाँदी तथा बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रलाई समेत सुरक्षा प्राथमिकतामा राखिएको छ । सीमा क्षेत्रमा अवैध गतिविधि तथा तस्करी रोक्न पैदल, मोबाइल, ग्रामीण तथा राजमार्ग गस्तीलाई प्रभावकारी बनाइने प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले लामो समयका लागि घर छाडेर जाँदा झ्यालढोका, ग्यास तथा विद्युत् राम्रोसँग जाँच गर्न, घर खाली रहेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न र भीडभाडमा नगद, गरगहना तथा महँगा मोबाइल बोक्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

मादक तथा लागूऔषध सेवन गरी सवारी नचलाउन, ट्राफिक नियम पालना गर्न, बालबालिका तथा ज्येष्ठ नागरिकलाई भीडभाडमा एक्लै नछाड्न र कुनै शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ । 

Share News