काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले पार्टीको जारी १५औँ महाधिवेशनलाई विगतका महाधिवेशनभन्दा फरक र नीतिगत बहसतर्फ उन्मुख भएको बताएका छन् । उनले महाधिवेशनको बन्दसत्रमा नीति, सिद्धान्त र भावी कार्यदिशामाथि छलफल हुनु कांग्रेसको आन्तरिक लोकतन्त्र र वैचारिक पुनर्संरचनाका दृष्टिले महत्वपूर्ण भएको बताए ।
आङ्देम्बेले विगतका महाधिवेशनका बन्दसत्रमा आफूले नीति, सिद्धान्त र पार्टीको भावी दिशाबारे पर्याप्त छलफल भएको नदेखेको उल्लेख गर्दै यसपटकको अभ्यासलाई ‘नौलो महाधिवेशन’का रूपमा व्याख्या गरे ।
‘मैले देखेको विगतका बन्दसत्रमा कहिल्यै नीति, सिद्धान्त र भावी कार्यदिशाका बारेमा छलफल भएको देखेको थिइनँ । त्यसकारण यो मेरो लागि पनि कांग्रेसको नौलो महाधिवेशन हो,’ उनले भने, ‘यसले कांग्रेसको नीति र सोचमा पनि बदलाव ल्याउने आशा राखेको छु ।’
उनका अनुसार महाधिवेशन केवल नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया मात्र नभई बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीको वैचारिक आधार, नीति र आगामी कार्यदिशा तय गर्ने अवसर बन्नुपर्छ । त्यसका लागि बन्दसत्रमा हुने बहसलाई नेतृत्व चयनभन्दा माथि उठाएर नीतिगत निर्णयमा केन्द्रित गर्नुपर्ने उनको भनाइ छ ।
आङ्देम्बेले महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिताले कांग्रेसको राष्ट्रिय राजनीतिक भूमिकालाई समेत प्रतिबिम्बित गरेको दाबी गरे । विभिन्न राजनीतिक धारका नेताहरूको उपस्थितिले नेपाली कांग्रेस अझै मुलुकको राजनीतिक दिशानिर्देशन गर्ने प्रमुख शक्ति रहेको संकेत गरेको उनको भनाइ छ ।
‘उद्घाटन सत्रमा जुन राजनीतिक पार्टीहरू उपस्थित भए, त्यसले कांग्रेसले नै मुलुकको राजनीतिलाई मूल दिशानिर्देश गर्छ भन्ने प्रमाण हो,’ उनले भने ।
उनले कांग्रेसप्रतिको जनविश्वासमा पुस्तान्तरण भइरहेको दाबी पनि गरे । विगतमा कांग्रेसलाई पुरानो पुस्ताको पार्टीका रूपमा चित्रित गरिए पनि पछिल्लो समय युवा पुस्ताको सहभागिता र आकर्षण बढेको उनको भनाइ छ ।
‘पहिले कांग्रेसलाई बूढोहरूको पार्टी भन्ने गरिन्थ्यो । तर आज १८ वर्षका युवा र युवतीहरूले भरिएको पार्टी बनेको छ,’ आङ्देम्बेले भने, ‘आज कांग्रेसभित्र यति धेरै मानिसहरू छन् । यो पार्टी सबै उमेर समूहले भरोसा गर्ने पार्टीका रूपमा स्थापित भएको छ ।’
उनले कांग्रेसमा बढेको युवा सहभागितालाई पार्टीको भविष्यसँग जोड्दै नयाँ पुस्ताको अपेक्षा र बदलिँदो सामाजिक–राजनीतिक चेतनाअनुसार पार्टीको नीति र संगठनात्मक शैलीमा समेत परिवर्तन आवश्यक रहेको संकेत गरे ।
यसैबीच, आङ्देम्बेले मुलुकको पछिल्लो राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै बहुमतको नाममा ‘अल्गोरिदम’बाट सत्तामा पुगेकाहरूले देशलाई गलत दिशातर्फ लैजान खोजेको आरोप लगाए । उनले वर्तमान राजनीतिक शक्तिहरूको कार्यशैलीप्रति प्रश्न उठाउँदै कांग्रेसले मुलुकको लोकतान्त्रिक र संवैधानिक बाटोको नेतृत्व गर्नुपर्ने बताए ।
‘आज देशमा बहुमतको नाममा अल्गोरिदमले सत्तामा आएकाहरूले युक्रेन बनाउने दिशामा लगिरहेका छन्,’ उनले भने, ‘अब यही हलले यही नेतृत्वप्रति भरोसा गरेर जानुपर्छ । देश यहीँबाट बन्ने छ ।’
उनको अभिव्यक्तिमा वर्तमान सत्ताप्रति राजनीतिक चुनौती प्रस्तुत गर्नुका साथै कांग्रेसभित्रको नेतृत्वलाई आगामी राजनीतिक यात्राका लागि थप जिम्मेवार बनाउने आग्रहसमेत देखिन्छ ।
आङ्देम्बेले महाधिवेशनबाट निर्वाचित हुने नयाँ नेतृत्वले परम्परागत राजनीतिक शैलीलाई निरन्तरता दिनेभन्दा पार्टीलाई नयाँ नीति, सोच र कार्यदिशासहित अघि बढाउनुपर्नेमा जोड दिए । उनका अनुसार महाधिवेशनको वास्तविक उपलब्धि नेतृत्व चयनसँग मात्र सीमित नभई कांग्रेसले आगामी दिनमा कुन वैचारिक आधारमा राजनीति गर्ने र मुलुकलाई कस्तो दिशामा लैजाने भन्ने स्पष्ट निर्णयमा निर्भर रहनेछ ।