काठमाडौं । सन सेक्युरिटिज प्रालिले मनीमेज इस्लिङ्टन कम्युनिटीको सहकार्यमा इस्लिङ्टन कलेजका विद्यार्थीका लागि आयोजना गरेको ३० दिने सेयर बजार अभ्यास प्रतियोगिता सम्पन्न भएको छ ।
भदौ ८ गतेदेखि सुरु भएको प्रतियोगिता ३० दिनसम्म सञ्चालन भएको थियो । विद्यार्थीलाई सेयर बजारको व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागीहरूले कृत्रिम कारोबार प्रणालीमार्फत सेयर खरिद–बिक्री गरेका थिए ।
प्रतियोगिताका क्रममा विद्यार्थीले बजारको गतिविधि, लगानी निर्णय, जोखिम व्यवस्थापन तथा लगानी पोर्टफोलियो व्यवस्थापनबारे व्यावहारिक ज्ञान हासिल गरेका थिए । उनीहरूले विभिन्न कम्पनीको प्रदर्शन तथा बजार गतिविधिको विश्लेषण गर्दै लगानी र कारोबारसम्बन्धी निर्णयसमेत गरेका थिए।
प्रतियोगिताको अन्तिम नतिजाअनुसार अछुर्णा काफ्ले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम भएकी छन् । उनले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन् ।
त्यस्तै, अरुण भण्डारी दोस्रो स्थानमा रहँदै १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। सोनु कुमार तेस्रो स्थानमा रहँदै १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
सन सेक्युरिटिजले युवा पुस्तामा वित्तीय साक्षरता, लगानीसम्बन्धी ज्ञान तथा पूँजी बजारको व्यावहारिक बुझाइ बढाउने उद्देश्यले यस्ता शैक्षिक तथा व्यावहारिक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जनाएको छ।
कम्पनीका अनुसार सेयर बजार अभ्यास प्रतियोगिताले विद्यार्थीलाई वास्तविक रकम लगानी नगरी बजारको व्यवहार बुझ्न, लगानी रणनीति बनाउन तथा निर्णय क्षमता विकास गर्न सहयोग पुर्याउँछ।
प्रतियोगिता सफल बनाउन सहयोग गरेको इस्लिङ्टन कलेज र मनीमेज इस्लिङ्टन कम्युनिटीप्रति सन सेक्युरिटिजले आभार व्यक्त गरेको छ।
सन सेक्युरिटिजले आगामी दिनमा पनि विद्यार्थी तथा युवा पुस्तालाई लक्षित गर्दै वित्तीय साक्षरता, पूँजी बजार शिक्षा तथा व्यावहारिक लगानी ज्ञान अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।