काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा बच्चा जन्माएको केही घण्टामै एक सुत्केरीको मृत्यु भएको छ ।
मृतकका आफन्तले चिकित्सक तथा अस्पताल प्रशासनको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् ।
धादिङको गजुरी गाउँपालिका–८ की करिब ३२ वर्षीया रबिना तामाङलाई असोज १८ गते प्रसूतिका लागि अस्पताल भर्ना गरिएको थियो ।
सोमबार दिउँसो शल्यक्रियामार्फत बच्चा जन्मिएपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको र सोही राति मृत्यु भएको परिवारले जनाएको छ ।
बच्चा जन्मिएपछि आमाको मृत्यु भएपछि अहिले रबिनाका परिवार तथा आफन्त आक्रोशित छन् । उनीहरूले उपचारका क्रममा भएको कमजोरीबारे अस्पताल प्रशासनसँग जवाफ मागिरहेका छन् ।
घटनापछि अस्पताल परिसरमा तनावको अवस्था बनेपछि प्रहरीले सुरक्षा व्यवस्था मिलाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार अस्पताल प्रशासन, चिकित्सक र पीडित परिवारबीच घटनाबारे छलफल भइरहेको छ ।
‘अस्पताल प्रशासन र चिकित्सकहरूसँग पीडित परिवारको कुराकानी भइरहेको छ,’ एसपी थापाले भने ।
नवजात शिशुको आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।