भालुको पित्त र हात्तीको दाह्राजस्तो वस्तुसहित तीन जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा बिक्री गर्न खोजेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडौं र सिन्धुलीबाट उनीहरूलाई पक्राउ गरेको हो ।

सीआईबीका अनुसार काठमाडौं महानगरपालिका–१६, सोह्रखुट्टेबाट भालुको पित्तजस्तो देखिने वस्तुसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका–१ सिसनियाका ३१ वर्षीय योगेन्द्रप्रसाद चौधरी छन् ।

विशेष सूचनाका आधारमा सीआईबीको टोलीले असोज १८ गते चौधरीलाई पक्राउ गरेको हो। उनको साथबाट भालुको पित्तजस्तो देखिने एक थान वस्तु बरामद भएको छ। त्यसको तत्काल तौल १४० ग्राम रहेको सीआईबीले जनाएको छ ।

बरामद वस्तुसहित चौधरीलाई आवश्यक कानुनी कारबाहीका लागि असोज १९ गते डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौंमा बुझाइएको छ ।

त्यस्तै, सिन्धुलीबाट हात्तीको दाह्राजस्तो देखिने वस्तुसहित दुई जना पक्राउ परेका छन् ।

सीआईबीको टोलीले इलाका प्रहरी कार्यालय भीमानसँगको समन्वयमा असोज १९ गते कमलामाई नगरपालिका–१४, तल्लो रानीबास क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कमलामाई नगरपालिका–१४ का ६० वर्षीय सोमबहादुर माझी भन्ने पोरे माझी र महोत्तरीको बर्दिबास नगरपालिका–५ का ६० वर्षीय चित्रबहादुर विश्वकर्मा छन् ।

उनीहरूको साथबाट हात्तीको दाह्राजस्तो देखिने एक थान वस्तु बरामद भएको छ। बरामद वस्तुको तौल ६ किलोग्राम रहेको सीआईबीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय सिन्धुलीमाडी, सिन्धुलीमा बुझाइएको छ ।

सीआईबीले संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा बिक्रीवितरणविरुद्ध कारबाही जारी रहेको जनाएको छ ।

Share News