काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको मातातीर्थ सबस्टेसनदेखि चोभार सबस्टेसनसम्मको करिब ६ किलोमिटर प्रसारण लाइन शुक्रबारबाट चार्ज गरिने भएको छ । लाइन चार्ज भएपछि यो राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएर नियमित विद्युत् प्रवाह हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले मातातीर्थ–चोभार प्रसारण लाइन र चोभार सबस्टेसन सञ्चालनमा आएपछि काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा विद्युत्को माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सहज हुने बताए ।
उनका अनुसार चोभार सबस्टेसनदेखि पाटनसम्मको करिब साढे ४ किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अघि बढाइएको छ ।
आगामी हिउँदयाममा काठमाडौं उपत्यकामा बढ्ने विद्युत् माग व्यवस्थापन गर्न प्राधिकरणले गत असोज ८ गते मातातीर्थ–चोभार प्रसारण लाइन १५ दिनभित्र चार्ज गर्ने निर्णय गरेको थियो । त्यसका लागि चोभार सबस्टेसनमा दुईवटा वे निर्माण गरिएको छ ।
चोभार सबस्टेसनमा स्थानीय विद्युत् आपूर्तिका लागि ११ केभीका नौवटा फिडर रहेका छन् । उक्त सबस्टेसनबाट कीर्तिपुर, फर्पिङ, पुल्चोक, एकान्तकुनालगायतका क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ । सबस्टेसन सञ्चालनमा आएपछि ती क्षेत्रमा विद्युत्को भोल्टेज सुधार हुनुका साथै आपूर्ति प्रणाली थप भरपर्दो हुने अपेक्षा गरिएको छ ।
मुख्यतः त्रिशूली र मस्र्याङ्दी नदी जलाधार क्षेत्रमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् मातातीर्थ सबस्टेसनमार्फत काठमाडौं उपत्यकामा आपूर्ति हुँदै आएको छ । मातातीर्थदेखि चोभारसम्म १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएपछि उपत्यकाको विद्युत् आपूर्ति प्रणालीमा थप वैकल्पिक मार्ग उपलब्ध हुनेछ ।
चोभार सबस्टेसनबाट चक्रपथ हुँदै ललितपुरको लगनखेल (पाटन) सबस्टेसनसम्म करिब साढे ४ किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणाधीन छ । त्यसका लागि पाटन सबस्टेसनलाई समेत स्तरोन्नति गरी १३२ केभी स्तरमा सञ्चालन गर्ने काम अघि बढाइएको छ ।
नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा आर्थिक वर्ष २०५५/५६ देखि थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजना सुरु गरिएको थियो । आयोजनाअन्तर्गत काठमाडौं र भक्तपुरतर्फको प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ ।
ललितपुरतर्फ भने खोकना, बुंगमती, हरिसिद्धी र लामाटार क्षेत्रमा स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै अवरोध गरेपछि निर्माण अघि बढ्न सकेको छैन । यसका कारण काठमाडौं उपत्यकाको १३२ केभी प्रसारण प्रणालीलाई पूर्ण रिङ संरचनामा सञ्चालन गर्ने योजना प्रभावित हुँदै आएको छ ।