काठमाडौं । नेपाली कांग्रेसले उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा पदाधिकारी थप गर्नेगरी विधान संशोधन गर्ने भएको छ ।
सोमबार (आज) खुलामञ्चमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त प्रस्तावसहित सभापति गगनकुमार थापाले प्रस्तुत गरेको प्रतिवेदन सर्वसहमत पास गर्दै उक्त निर्णय गरेको हो ।
‘कांग्रेसले उपसभापति र महामन्त्रीमा १/१ जना महिला रहनेगरी विधान संशोधन गर्ने विषय पारित भएको छ,’ बैठकमा सहभागी सहमहामन्त्री डिला संग्रौलाले भनिन् ।
उक्त संशोधनसँगै कांग्रेसमा अब चारजना उपसभापति रहनेछन् । जसमा एकजना वरिष्ठ उपसभापति हुने गरी पद व्यवस्थापन गरिएको छ ।
हालसम्म २ महामन्त्री रहने व्यवस्था भएकोमा अब एक जना महिला समेत रहनेगरी महामन्त्रीमा तीन पद सिर्जना गरिएको छ ।
यी दुबै पद मनोनित नगरेर निर्वाचन प्रणालीबाटै गराइने व्यवस्था नयाँ बिधानमा तय गरिएको सहमहामन्त्री संग्रौलाले बताइन् ।
यस्तै, सहमहामन्त्रीको पदमा कांग्रेसले २ पदाधिकारी थप गर्दै १३ जना नियुक्त गर्ने व्यवस्था गरेको छ ।
समावेशिताको आधारमा ८, खुलाबाट २ र सभापतिले मनोनित गर्ने ३ सहित १३ जना सहमहामन्त्री रहनेछन् ।
यसअघि सहमहामन्त्रीमा ११ जना रहने व्यवस्था थियो ।