काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा सौगात थापाले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा ३५ वर्ष मुनिका केन्द्रीय सदस्यमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
थापा कास्की २ बाट महाधिवेशन प्रतिनिधि भएर महाधिवेशनमा सहभागी छन् ।
उनी ३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा थापा निर्वाचित भएका थिए । पार्टीभित्र जेन्जी प्रतिनिधिको रुपमा उनी परिचित छन् । नेतृत्व तहमा युवाको प्रवेशले कांग्रेस आधुनिक र गतिशील दलमा रूपान्तरण हुने थापाले बताए ।
'यस पटक केन्द्रीय नेतृत्व तहमा युवाको प्रवेश हुँदै छ, यो हाम्रा लागि खुसीको कुरा हो,’ थापाले भने, ‘महाधिवेशनले युवाको मर्म र भावनालाई आत्मसात् गरेर विचार, संगठन र कार्यक्रममा प्रस्ट नीति बनाउनुपर्छ । प्रवेशसँगै बहिर्गमनको व्यवस्था पनि हुनुपर्छ । यसले पार्टीलाई गतिशील बनाउँछ ।'
जेन–जी आन्दोलनपछि पार्टीले युवालाई थप ‘स्पेस’ दिने गरी लिएको नीतिगत सुधारको प्रभाव पार्टीका अधिवेशनहरूमा देखिएको उनले बताए ।
'महाधिवेशनले युवा समूहलाई अनि लामो आन्दोलन र विरासत धानेर आएको पुस्ताबीच तालमेल गरेर अघि बढ्न सक्ने कार्यक्रम र योजना ल्याउनुपर्छ,' उनले भने,'जेन–जी आन्दोलनले युवामा राजनीतिप्रति प्रत्यक्ष चासो बढाएको छ । त्यसैले पार्टीभित्र यसलाई बैचारिक रूपमा जोड्नुपर्छ ।'
राजनीतिमा नलागेका विभिन्न पेसा, व्यवसायमा दक्षता प्राप्त व्यक्तिहरूलाई समेत राजनीतिमा ल्याउन नेतृत्वले पहल गर्नुपर्ने थापाको भनाइ छ ।
'वडादेखि केन्द्रीय तहसम्मै गरेको सुनिश्चितताले राम्रो सन्देश दिएको छ,' उनले भने,' यो व्यवस्था स्थानीय तह र प्रदेशसभा निर्वाचनमा उम्मेदवार छनोटको बेला पनि गरिनुपर्छ ।'
थापाले इन्फोम्याक्स कलेजबाट एमबीएसमेत गरेका छन् । केही साताअघि पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा उनी निर्वाचितसमेत भएका छन् ।
उनी पर्यटन व्यवसायी समेत हुन् । थापा अंशुभरा ग्रुपका निर्देशक समेत रहेका छन् । थापा पोखरा महानगरपालिकाको नेवीसंघको सभापति भइसकेका छन् । उनी क्षेत्रीय प्रतिनिधि २ पटक भइसकेका छन् ।
१४ औं महाधिवेशनमा पनि विजयी भएका थिए । १५ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भए । पोखरा उद्योग वाणिज्य संघमा २ पटक सदस्य भइसकेका छन् ।
आइतबारदेखि काठमाडौंमा नेपाली कांग्रेसको १५ औं महाधिवेशन सुरु भइसकेको छ ।