हिम्लुङ हिमपहिरोमा थप ८ शव भेटिए, मृतकको संख्या १५ पुग्यो

काठमाडौं । मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी मृत्यु हुने आरोहीको संख्या १५ पुगेको छ । 

बिहीबार थप ८ जनाको शव भेटिएपछि मृतकको संख्या १५ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

हिमपहिरोमा हराइरहेका आरोहीको खोज तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघको टोलीले बिहीबार (आज) दिउँसो र अपराह्न गरी ८ जनाको शव फेला पारेको हो ।

हिमपहिरोमा हराएका एक जना आरोहीको भने अझै अवस्था अज्ञात छ । उनको खोजी तथा उद्धार कार्य जारी रहेको पाैडेलले बताए । 

यसअघि बुधबार तीन जनाको शव भेटिएको थियो । उद्धार टोलीले आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला पारेको हो ।

त्यस्तै, आइतबार र सोमबार चार जनाको शव भेटिएको थियो । तीमध्ये वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव फेला परेको उद्धार टोलीले जनाएको छ ।

मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा असोज ११ गते हिमपहिरो गएको थियो । हिमपहिरोमा १६ जना आरोही हराएका थिए । तीमध्ये ११ जना भने घटनाको दोस्रो दिन सम्पर्कमा आएका थिए ।

आरोही पासाङ काजी शेर्पाको नेतृत्वमा ११ जनाको टोली खोज तथा उद्धारमा खटिएको छ । टोलीमा विक्रम कार्की, दावा जंबु शेर्पा, निगिमा टासी शेर्पा, बलराम गोम्बू, काजी शेर्पा, दा नोर्बु शेर्पा, दावा संगे शेर्पा, टार्के शेर्पा र दावा तेन्जी शेर्पा रहेका छन् ।

Share News