काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्न सुरु गरेका छन् ।
बुधबार (आज) सुरु भएको भर्चुअल कार्यक्रममा अध्यक्ष ओलीले चार प्रदेशमा पार्टीको संगठनात्मक अवस्था, पछिल्ला गतिविधि तथा समसामयिक राजनीतिक विषयमा नेताहरूसँग संवाद गरिरहेका छन् ।
कार्यक्रममा एमालेका उपाध्यक्ष, महासचिवलगायत शीर्ष नेताहरू पनि सहभागी छन् ।
प्रदेश र जिल्ला तहका सचिवालय सदस्यलाई जोडेर आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ओलीले पार्टीको आगामी कार्यदिशा, संगठन सुदृढीकरण तथा प्रदेश र जिल्ला तहका गतिविधिबारे धारणा राख्ने बताइएको छ ।
चार प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरू सहभागी कार्यक्रममा अध्यक्ष ओलीले स्थानीय तहसम्म पार्टी संगठनको अवस्था र गतिविधिबारे समेत जानकारी लिने तथा नेताहरूका धारणा सुन्ने तयारी छ ।
पार्टीको केन्द्रीय नेतृत्व र प्रदेश तथा जिल्ला तहका नेताबीच प्रत्यक्ष संवाद गर्ने उद्देश्यले भर्चुअल कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।