असोज १८ मा कांग्रेस महाधिवेशन उद्घाटन, केही क्षेत्रमा प्रतिनिधि चयन अझै बाँकी

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ ।

यसअघि महाधिवेशन उद्घाटन असाेज १६ गते खुलामञ्जमा हुने तयारी थियाे । कांग्रेस केन्द्रीय कार्यालयले मंगलबार (आज) जारी गरेको विज्ञप्तिअनुसार उद्घाटन समारोह दिउँसो २ बजे हुनेछ ।

कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन् । त्यसपछि प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशनको प्रक्रिया अघि बढिरहेको पार्टीले जनाएको छ ।

तर, विभिन्न स्थानमा परेको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएको कांग्रेसले जनाएको छ । त्यस्ता क्षेत्रमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अझै जारी रहेको पार्टीको भनाइ छ ।

निर्वाचन समिति तथा पार्टीका तहगत कार्यसमितिबाट प्राप्त जानकारीलाई आधार बनाउँदै कांग्रेसले केही स्थानमा प्रतिनिधि चयनको काम बाँकी रहे पनि महाधिवेशन उद्घाटन समारोह निर्धारित मितिमै गर्ने निर्णय सार्वजनिक गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस परिस्थितिलाई मध्यनजर गरी १५औं महाधिवेशन उद्घाटन समारोह २०८३ असोज १८ गते २ बजे खुलामञ्चमा हुने’ जानकारी गराइएको छ ।

यससँगै कांग्रेसको १५औं महाधिवेशनको औपचारिक उद्घाटनको मिति तय भएको छ । यद्यपि, केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया भने उद्घाटनअघि नै पूरा गर्नुपर्ने अवस्था देखिएको छ ।

null

Share News