काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधिको आवास व्यवस्थापनका लागि करिब ३ हजार ८ सय कोठा आवश्यक पर्ने भएको छ ।
त्यसका लागि एक रातको मात्रै करिब १ करोड १४ लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको आवास व्यवस्थापन समितिका संयोजक रमेश धमलाले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधिलाई काठमाडौंको सुन्धारा, ठमेल र एयरपोर्ट क्षेत्रका होटलमा राख्ने तयारी गरिएको छ ।
होटलको औसत दर प्रतिकोठा ३ हजार रुपैयाँ पर्ने अनुमान गरिएको उनले बताए ।
३ हजार ८ सय कोठालाई चार रातका लागि प्रतिकोठा ३ हजार रुपैयाँका दरले हिसाब गर्दा ४ करोड ५६ लाख रुपैयाँ खर्च हुन्छ । यसमा खाना, यातायात तथा अन्य व्यवस्थापन खर्च भने समावेश छैन ।
समितिले प्रतिनिधि, पदाधिकारी, अतिथि तथा व्यवस्थापनमा खटिने व्यक्तिका लागि आवश्यकताअनुसार ३ हजार ८ सयसम्म कोठा बुक गर्ने तयारी गरेको हो ।
काठमाडौं उपत्यकाका कतिपय प्रतिनिधि आफ्नै आवासमा बस्ने भएकाले सबै प्रतिनिधिलाई होटलमा राख्नुपर्ने अवस्था नरहेको समितिको भनाइ छ ।
विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि भने कुपण्डोलस्थित होटल हिमालयनमा आवास व्यवस्थापन गर्ने तयारी गरिएको धमलाले जानकारी दिए ।
महाधिवेशन प्रतिनिधिको बास व्यवस्थापनको जिम्मेवारी आवास व्यवस्थापन समितिले नै लिएको छ । समितिले होटल व्यवसायीसँग समन्वय गरी कोठा बुकिङ तथा प्रतिनिधिको आवास व्यवस्थापन गरिरहेको जनाएको छ ।
कांग्रेसको १५औं महाधिवेशन असोज १८ देखि २१ सम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनमा करिब ७ हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको धमलाले जानकारी दिए ।