काठमाडौं । नेपालमा महिला ई–स्पोर्ट्स खेलाडीहरूको प्रतिभा र क्षमता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय महिला पब्जी मोबाइल च्याम्पियनसिप २०२६ को फाइनल आज काठमाडौंको महाराजगञ्जस्थित शुभ इन्टरटेन्मेन्टमा हुँदैछ ।
पावर म्याक्स टाइगर इनर्जी ड्रिङ्कको सहकार्यमा आयोजना भएको प्रतियोगिताको अन्तिम चरणमा १६ महिला टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा सुरुवातमा २४ महिला टोली सहभागी भएका थिए । तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने १६ टोली फाइनल चरणमा पुगेका हुन् । प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको आयोजकले जनाएको छ ।
महिला ई–स्पोर्ट्सको विकास, नयाँ प्रतिभाको पहिचान र महिला खेलाडीलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । फाइनल खेलमा महिला खेलाडीहरूको जोश, उत्साह र प्रतिस्पर्धाले थप रोमाञ्चक माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ ।