काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज शनिबार साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स उपाधिका लागि आमनेसामने हुँदै छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उपाधि भिडन्तमा दुवै टोलीको लक्ष्य एनपीएलको ट्रफी उचाल्नेछ । त्यसका लागि दुवै टोली उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पार्ने योजनासहित मैदान उत्रनेछन् ।
गत बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको थियो । त्यस्तै, गत मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई नै ६ विकेटले हराउँदै लुम्बिनीले फाइनलको यात्रा तय गरेको थियो ।
गत संस्करणको फाइनलमा पनि यी दुई टोलीबीच नै प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले पहिलोपटक उपाधि जितेको थियो ।
यसअघिका दुवै संस्करणमा फाइनल पुगे पनि सुदूरपश्चिम उपाधिविहीन छ । पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनीसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।
लगातार तेस्रोपटक फाइनलमा पुगेको सुदूरपश्चिम यसपटक विगतका हारको बदला लिँदै पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा छ । दुईपटक फाइनलमा निराश बनेको टोलीका लागि यसपटक उपाधि जित्नु प्रतिष्ठाको विषयसमेत बनेको छ ।
यता, लुम्बिनी भने उपाधि रक्षा गर्दै एनपीएलमा लगातार दोस्रोपटक च्याम्पियन बन्न चाहन्छ । गत संस्करणको सफलतालाई निरन्तरता दिने लक्ष्यमा रहेको लुम्बिनी यसपटक पनि सुदूरपश्चिमलाई हराएर उपाधि आफ्नो कब्जामा राख्न चाहन्छ ।