घर ढल्यो, मालिक बेहोस

काठमाडौं । साेमबार बिहानको समय । ललितपुरको धापाखेलको एउटा घरमा बस्दै आएको परिवारलाई स्थानीय प्रशासनले अघिल्लो दिन नै सुरक्षित स्थानमा सारेको थियो । लगातारको वर्षाले जमिन गल्दै गएपछि घरमुनिको भाग जोखिममा परेको थियो । जोखिम देखेरै प्रशासनले परिवारलाई घरबाट निकालिसकेको थियो । 

तर, घर भने रोकिएन । ललितपुर महानगरपालिका–२४ धापाखेलमा जमिन गलेर घरभन्दा तल पहिरो खसेपछि साढे दुई तले घर एकाएक ढल्यो । घर ढलेको खबरले घरधनी मञ्जु राईलाई यति ठूलो चोट पुग्यो कि उनी खबर सुन्नेबित्तिकै बेहोस भइन् । उनलाई सोमबार बिहानै अस्पताल भर्ना गरिएको छ ।

महानगरपालिकाका वडा सदस्य उद्धव बस्नेतका अनुसार राईको नाममा रहेको जग्गामा बनेको घर पहिरोले ढलेको हो ।

‘घर ढलेको थाहा पाएपछि उहाँ बेहोस हुनुभयो,’ उनले भने, ‘उहाँलाई बिहानै अस्पताल लगिएको छ, कुन अस्पतालमा भर्ना गरिएको हो भन्ने चाहिँ थाहा भएन ।’

राईका श्रीमान् सोभितकुमार थापा मगर हुन् । वर्षाका कारण जमिन कमजोर बन्दै गएपछि स्थानीय प्रशासनले घर जोखिममा रहेको आँकलन गरेको थियो । त्यसपछि सोही घरमा बस्दै आएको परिवारलाई अघिल्लो दिन नै सुरक्षित स्थानमा सारिएको थियो । 

त्यसैले घर ढल्दा घरभित्र कोही थिएनन । ठूलो भौतिक क्षति भए पनि मानवीय क्षति भने हुन पाएन । 

असोज ९ गतेदेखि लगातार भइरहेको वर्षाले धापाखेलको जमिन कमजोर बनाएको वडा सदस्य बस्नेतले बताए । पानीले जमिन गल्दै गएपछि घरको तलतिर पहिरो खसेको र त्यसैको दबाबले साढे दुई तले घर ढलेको प्रहरीको भनाइ छ । 

Share News