चामेमा सेनाको प्राविधिक टोली नपुग्दा थुनिएको मर्स्याङ्दी अझै खुलेन

बाढी प्रभावित स्थानीय बासिन्दाहरू । फाइल तस्विर

काठमाडौं । मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी अझै खुला हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले ब्लास्ट गरेर खोल्ने तयारी भइरहेको बताए ।

'मर्स्याङदी नदी खोल्नका लागि विस्फोट गर्ने तयारी भएको छ,’ उनले भने,’ नेपाली सेनाको प्राविधिक टोलीहरू बाटामा छन् ।'

सेनाको टोली पुग्नसाथ थुनिएको नदी खुला गरिने पौडेलले बताए । जिल्ला दैवी प्रकोप उद्धार समितिले ब्लास्ट गरेर थुनिएको नदी खुला गर्ने उनले जानकारी दिए । 

यसैगरी, मनाङ ङिस्याङ गाउँपालिकातर्फ जाने सञ्चार सम्पर्क पूर्ण रूपमा विच्छेद भएको पौडेलले बताए । अवस्था अझै अज्ञात रहेको उनको भनाइ छ ।

प्रहरी र स्थानीय प्रशासनले सञ्चार सम्पर्क पुनःस्थापित गर्ने र उद्धार टोली पठाउने प्रयास गरिरहेको उनले बताए । प्रहरीसँग सम्पर्क गर्दा त्यस क्षेत्रमा कुनै पनि क्षति नभएको उनले उल्लेख गरे ।

उनका अनुसार बाढी प्रभावित स्थानीय बासिन्दाहरूलाई हिजो आर्मी क्याम्प र गाउँपालिकाको हलमा राखिए थियो । बाढीको बहाब घटेपछि उनीहरू आ-आफ्नो घरतर्फ फर्किएका छन्। 

विदेशी पर्यटकहरूलाई सुरक्षित रूपमा होटलहरूमा राखिएको पौडेलले जानकारी दिए । 'चामे क्षेत्रमा १२ जना बङ्गलादेशी नागरिक सुरक्षित छन्,' उनले भने,' उपल्लो क्षेत्रमा नेपाली र विदेशी गरी करिब दुई देखि तीन सयको संख्यामा पर्यटक तथा सर्वसाधारण रहेको अनुमान छ ।'

 सेनाको हेलिकप्टरमार्फत उपल्लो मनाङ पुगेर वस्तुस्थिति बुझ्ने र आवश्यक परे उद्धार कार्यलाई अगाडि बढाउने तयारी भइरहेको उनको भनाइ छ ।

Share News