काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको केन्द्रीय प्रक्रिया अघि बढिरहेका बेला गुल्मी कांग्रेसमा जिल्ला सभापतिको दौडसमेत सुरु भएको छ ।
जिल्ला अधिवेशनको मिति औपचारिक रूपमा तय भइनसके पनि वर्तमान सभापति खिलध्वज पन्थीसहित चार नेताहरूले नेतृत्वका लागि तयारी थालेको जिल्ला नेताहरूले बताएका छन् ।
वर्तमान सभापति खिलध्वज पन्थीले विधानअनुसार दोस्रो कार्यकालका लागि पुनः सभापति बन्ने तयारी गरिरहेका छन् ।
पन्थीलाई चुनौती दिने तयारीमा पूर्वशिक्षक नेता प्रेम भण्डारी, नेविसंघको पृष्ठभूमिबाट आएका महेन्द्रप्रसाद भण्डारी र वर्तमान जिल्ला उपसभापति अनन्तराम पौडेल रहेको जिल्लाका नेताहरूले जानकारी दिए ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार जिल्ला र प्रदेश तहका अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्ने निर्णय भए पनि जिल्ला अधिवेशनको मिति भने अहिलेसम्म तय भएको छैन ।
तर, औपचारिक कार्यतालिका नआउँदै गुल्मी कांग्रेसमा नेतृत्वका लागि आन्तरिक तयारी भने तीव्र हुन थालेको छ । आकांक्षीहरूले आफ्नो राजनीतिक तथा संगठनात्मक आधार बलियो बनाउने प्रयास थालेका छन् ।
उनीहरू निकट नेताहरूले सम्भावित समर्थन र समीकरणबारे समेत छलफल अघि बढाएका छन् ।
पन्थी दोस्रो कार्यकालको तयारीमा
हालका सभापति पन्थी दोस्रो कार्यकालका लागि मैदानमा उत्रिने तयारीमा छन् । पार्टी विधानले दिएको अवसरअनुसार पुनः नेतृत्वमा दाबी गर्ने तयारी पन्थीको रहेको छ ।
उनले पहिलो कार्यकालमा जिल्लाको संगठन सम्हालेका कारण दोस्रो कार्यकालका लागि उनको दाबीलाई निरन्तरताको दाबीका रूपमा हेरिएको छ । तर, उनीविरुद्ध एकभन्दा बढी आकांक्षी देखिएपछि आगामी अधिवेशनमा नेतृत्वको प्रतिस्पर्धा बहुकोणीय बन्ने संकेत देखिएको छ ।

खिलध्वज पन्थी ।
अहिलेको अवस्थामा पन्थीविरुद्ध मैदानमा आउने आकांक्षीहरूबीच सहकार्य हुन्छ वा छुट्टाछुट्टै उम्मेदवारी पर्छ भन्ने स्पष्ट भइसकेको छैन । त्यसैले अधिवेशनको मिति नजिकिँदै जाँदा बन्ने समूहगत समीकरणले प्रतिस्पर्धाको स्वरूप निर्धारण गर्ने देखिएको जिल्ला नेताहरूले बताएका छन् ।
पूर्वशिक्षक भण्डारीको दाबी
पूर्वशिक्षक तथा कांग्रेस नेता प्रेम भण्डारी पनि जिल्ला सभापतिको तयारीमा छन् । धुर्कोट गाउँपालिका–५ वस्तुका भण्डारी स्थानीय तहको नेतृत्वदेखि लामो समय शिक्षण अनुभव भएका नेता हुन् ।
उनी २०५४ देखि २०५९ सम्म तत्कालीन वस्तु गाविसको अध्यक्ष भएका थिए । त्यसपछि स्थायी शिक्षकका रूपमा करिब दुई दशक शिक्षण सेवामा रहे । सदरमुकाम तम्घासस्थित रेसुङ्गा माध्यमिक विद्यालयको प्रधानाध्यापकका रूपमा समेत उनले जिम्मेवारी सम्हालेका थिए ।

प्रेम भण्डारी ।
शिक्षण पेशामा रहँदै पार्टी राजनीतिमा सक्रिय रहेका भण्डारीले अहिले जिल्ला सभापतिमा आफ्नो दाबी अघि बढाउने तयारी गरेको उनीनिकट नेताहरूको भनाइ छ ।
स्थानीय तहको नेतृत्व र शैक्षिक प्रशासनमा काम गरेको अनुभवलाई आफ्नो राजनीतिक आधारका रूपमा प्रस्तुत गर्दै उनले जिल्ला संगठनको नेतृत्वमा दाबी गर्ने तयारी गरेका हुन् ।
महेन्द्र भण्डारी पनि प्रतिस्पर्धाको तयारीमा
जिल्ला कांग्रेसमा लामो समयदेखि सक्रिय नेता महेन्द्रप्रसाद भण्डारी पनि सभापतिको तयारीमा रहेका छन् ।
नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा आएका महेन्द्र नेविसंघको केन्द्रीय उपसभापतिसमेत भइसकेका नेता हुन् ।
विद्यार्थी राजनीतिबाट पार्टी संगठनमा आएको अनुभवलाई उनले जिल्ला नेतृत्वका लागि आफ्नो आधारका रूपमा प्रस्तुत गर्ने तयारी गरेको उनीनिकट नेताहरू बताउँछन् ।

महेन्द्रप्रसाद भण्डारी ।
महेन्द्र र प्रेम भण्डारी दुवै एउटै वडाका नेता हुन् । एउटै भूगोलबाट दुई नेताले जिल्ला सभापतिमा दाबी गरेपछि गुल्मी कांग्रेसको प्रारम्भिक समीकरण थप रोचक बनेको छ ।
यद्यपि, अधिवेशनको प्रक्रिया अघि बढ्दै जाँदा दुईमध्ये एकले आफ्नो दाबी छाड्ने, एकअर्काबीच सहकार्य गर्ने वा फरक समूहसँग समीकरण बनाउने सम्भावना खुला रहेको कांग्रेसका स्थानीय नेताहरू बताउँछन् ।
उपसभापति पौडेलको पनि दाबी
वर्तमान जिल्ला उपसभापति अनन्तराम पौडेल पनि सभापतिको दौडमा रहेका जिल्ला नेता हुन् । पौडेलका समर्थकहरूले वर्तमान उपसभापति भएकाले जिल्ला सभापतिका लागि उनको दाबी स्वाभाविक रहेको बताउँदै आएका छन् ।

अनन्तराम पौडेल ।
छत्रकोट गाउँपालिकाको अध्यक्षका लागि भएका दुईवटा निर्वाचनमा उनी नेकपा एमालेका उम्मेदवारसँग पराजित भएका थिए । त्यसका बाबजुद जिल्ला संगठनमा निरन्तर सक्रिय रहेको र हाल उपसभापतिको जिम्मेवारीमा रहेकाले पौडेलले आफ्नो दाबीलाई संगठनात्मक निरन्तरतासँग जोडेर अघि बढाउने तयारी गरेको उनीनिकट नेताहरूको भनाइ छ ।
स्थानीय निर्वाचनमा प्रत्यक्ष रूपमा उम्मेदवार बनेर संगठन र मतदातासँग काम गरेको अनुभवलाई पनि उनी पक्षले नेतृत्वको दाबीको आधारका रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ ।
प्रतिनिधिको समीकरण निर्णायक
गुल्मी कांग्रेसको आगामी नेतृत्वको प्रतिस्पर्धा अहिले आकांक्षीको संख्यामा सीमित देखिए पनि अन्तिम परिणाम भने अधिवेशनबाट चयन हुने प्रतिनिधिको समीकरणले निर्धारण गर्नेछ ।
वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्र हुँदै प्रतिनिधिको संरचना स्पष्ट भएपछि मात्रै जिल्ला सभापतिको वास्तविक शक्ति परीक्षण हुनेछ । त्यसअघि आकांक्षीको संख्या थपिन वा घट्न सक्ने सम्भावना पनि रहेको छ ।
पार्टीको विधान अनुसार जिल्ला सभापतिको दावेदार हुन महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनैपर्ने प्रावधान रहेको छ ।
विशेषगरी जिल्लाका विभिन्न पालिका तथा निर्वाचन क्षेत्रमा कुन समूहले कति प्रतिनिधि आफ्नो पक्षमा पार्छ भन्ने विषयले जिल्ला सभापतिको प्रतिस्पर्धामा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
अहिले पन्थी पुनः नेतृत्वमा फर्किने तयारीमा रहँदा उनलाई चुनौती दिने तीन आकांक्षी देखिएका छन् । तर, उनीहरूबीचको सम्भावित तालमेल, प्रतिनिधिको भूगोलगत वितरण र केन्द्रीय राजनीतिसँग जोडिने स्थानीय समीकरणले अन्तिम प्रतिस्पर्धाको स्वरूप बदल्न सक्नेछ ।
त्यसैले गुल्मी कांग्रेसको आगामी जिल्ला अधिवेशन सभापतिका आकांक्षी कति छन् भन्नेभन्दा पनि कसले आफ्नो पक्षमा प्रतिनिधिको बहुमत जुटाउन सक्छ भन्ने राजनीतिक परीक्षणका रूपमा हेरिन थालिएको छ ।