काठमाडौं । अनलाइन सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर ४९)ले १२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले सञ्चालक समितिको सिफारिसअनुसार १२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले लाभांश प्रस्ताव पारित गर्न असोज २३ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको १९औँ वार्षिक साधारण सभा काठमाडौंमा दिउँसो साढे ३ बजे बस्नेछ ।
आर्थिक वर्ष २०८२÷८३ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव सभामा पेस हुनेछ । त्यस्तै, सोही आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तथा आर्थिक वर्ष २०८३÷८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।
सभाले सञ्चालक समितिको पुनर्गठन तथा निर्वाचनसम्बन्धी प्रस्तावसमेत पारित गर्नेछ । त्यस्तै, रणनीतिक साझेदार खोज्ने तथा समान प्रकृतिका संस्थासँग गाभ्ने वा गाभिने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभामा पेस हुनेछ ।