साताको सेयर बजार : नेप्से १७ अंकले घट्दा कारोबार रकममा भने वृद्धि

काठमाडौं । यस साता नेपाली सेयर बजारमा नेप्से परिसूचक घटेको छ । तीन दिन खुलेको बजारमा नेप्से परिसूचक १७.४१ अंक अर्थात् ०.६६ प्रतिशतले घटेर २ हजार ६२९.८१ विन्दुमा बन्द भएको छ । गत साता नेप्से २ हजार ६४७.२२ विन्दुमा बन्द भएको थियो ।

यस साता तीनमध्ये दुई कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने एक कारोबार दिन घटेर बन्द भएको थियो ।  

यस साता फ्लोट इन्डेक्स २.०६ अंकले घटेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.२८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९६ अंकले घटेका छन् ।

नेप्से परिसूचक घटे पनि यस साता कारोबार रकम भने बढेको छ । गत साता दैनिक औसत ६ अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यस साता दैनिक औसत ६ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको छ । यो गत साताको तुलनामा २.६५ प्रतिशत बढी हो। 

त्यस्तै, यस साता दैनिक औसत कारोबार भएको सेयर संख्या २२.९८ प्रतिशतले बढेको छ । दैनिक औसत कारोबार संख्या भने ०.३४ प्रतिशतले बढेको छ ।  

नेप्से परिसूचकसँगै यस साता कुल बजार पूँजीकरण पनि घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ५३ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण यस साता २९ अर्ब रुपैयाँले घटेर ४५ खर्ब २३ अर्ब रुपैयाँमा सीमित भएको छ । यो ०.६६ प्रतिशतको गिरावट हो ।  

यस साता कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहबाहेक अधिकांश उपसमूहको परिसूचक घटेको छ । एक उपसमूहको परिसूचक स्थिर रहेको छ ।

उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.१३ प्रतिशतले बढेको छ । गत साता १० हजार ७१२.६६ विन्दुमा रहेको यो उपसमूहको परिसूचक यस साता १२०.७८ अंक बढेर १० हजार ८३३.४४ विन्दुमा पुगेको छ ।

यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशतले घटेको छ । गत साता ३ हजार ६६५.०८ विन्दुमा रहेको जलविद्युत उपसमूहको परिसूचक यस साता ६१.६७ अंक घटेर ३ हजार ६०३.४१ विन्दुमा झरेको छ ।

अंकका आधारमा भने निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १६४.३७ अंकले घटेको छ ।  

यस साता कारोबारमा आएका कम्पनीमध्ये सीवाईसी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयरमूल्य ९.४० प्रतिशतले बढेको हो ।

त्यस्तै, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब ८ प्रतिशत र सोनापुर मिनरल्स एन्ड आयलको सेयरमूल्य करिब साढे ७ प्रतिशतले बढेको छ ।

यस साता इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक घटेको छ। कम्पनीको सेयरमूल्य १०.८० प्रतिशतले घटेको छ ।

समग्रमा, यस साता नेप्से परिसूचकमा गिरावट आए पनि दैनिक औसत कारोबार रकम र कारोबार भएको सेयर संख्यामा वृद्धि भएको देखिएको छ ।

Share News