यूएईले बाढी प्रभावितलाई थप ३ अर्ब ८३ करोड दिने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अरब इमिरेट्स (यूएई)का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ८१औं महासभाका क्रममा शनिबार न्युयोर्कस्थित यूएईको संयुक्त राष्ट्रसंघीय स्थायी नियोगमा दुईबीच भेटवार्ता भएको हो ।

भेटमा मन्त्री खनालले नेपालमा जलवायुजन्य विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति यूएई सरकार र जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा सहानुभूतिप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट धन्यवाद तथा आभार व्यक्त गरेका छन् । 

बाढी प्रभावित समुदायका लागि यूएईले उपलब्ध गराएको मानवीय सहयोगका लागि पनि परराष्ट्रमन्त्री खनालले धन्यवाद दिएका छन् ।

साथै उनले यूएईले हालै बाढी प्रभावितका लागि थप २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब ८३ करोड रुपैयाँ) आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएकोमा पनि आभार व्यक्त गरेका छन् । 

भेटमा नेपाल–यूएई द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

दुई मन्त्रीबीच श्रम, व्यापार, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा, कनेक्टिभिटी तथा संयुक्त राष्ट्रसंघअन्तर्गत बहुपक्षीय सहकार्यलगायत विषयमा विचारविमर्श भएको बताइएको छ । 
 

Share News