पोखरा । फेवातालमा हुनसक्ने जल दुर्घटनाको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले अत्याधुनिक ‘जेट स्की बोट’ सञ्चालनमा ल्याएको छ ।
सशस्त्र प्रहरीले असोज ११ गतेदेखि फेवातालमा उक्त जेट स्की बोट सञ्चालनमा ल्याएको हो ।
फेवातालमा हुने पानीजन्य दुर्घटना तथा अन्य आपत्कालीन घटनामा तत्काल खोज तथा उद्धार गर्न सहज होस् भन्ने उद्देश्यले बोट सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ ।
तीन सिट क्षमताको जेट स्की बोटले प्रतिघण्टा करिब १०५ किलोमिटर दूरी पार गर्न सक्ने क्षमता राख्छ । यो बोट लगातार ६ देखि ७ घण्टासम्म सञ्चालन गर्न सकिने बताइएको छ ।
फेवातालमा बढ्दो पर्यटकीय गतिविधि तथा जलयात्राका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले २०६९ सालदेखि ‘फेवा वाच एन्ड रेस्क्यू टावर’ स्थापना गरी निरन्तर खोज तथा उद्धार सेवा दिँदै आएको छ ।
उक्त टावरबाट परिचालित सशस्त्र प्रहरीको उद्धार टोलीले हालसम्म फेवातालबाट १ हजार ५८८ जनाको जीवितै उद्धार गरिसकेको छ ।
यस्तै, विभिन्न घटनामा ५३ जनाको शवसमेत फेवातालबाट निकालिएको सशस्त्र प्रहरीले जनाएको छ ।