काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे-मुग्लिन सडक खण्डमा खसेका पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने काम तीव्र पारिएको छ ।
पहिरो हटाउन २५ भन्दा बढी हेभी उपकरण तथा मेसिन परिचालन गरिएको भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले जनाएका छन् ।
उनका अनुसार सडक खुलाउन सम्बन्धित निकाय र प्राविधिक टोलीले तीव्र गतिमा काम गरिरहेका छन् ।
कमेरेभिर, १२ किलो, बाँगेमोड, पोखरेखोला, चालिसे, परेवाभिर, शीतलबजार, गोमती, कृष्णभिर, ज्यामिरेघाट, फिस्लिङ, चुम्लिङटार, धारापानी, घोप्टेभिर र सिमलधारालगायत विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
मौसम अनुकूल रहेमा आज साँझसम्म नौबिसे-मुग्लिन सडक खण्डमा यातायात सुचारु गर्ने तयारी गरिएको मन्त्री लम्सालले जानकारी दिए ।