काठमाडौं । नेपाल प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई डिस्कोर्डमा सुरक्षाको थ्रेट दिने व्यक्तिको खोजी सुरू गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राणालाई सुरक्षाको थ्रेट दिने व्यक्ति तथा समूहको खोजी भइरहेको जनाएको छ ।
राणाले आफूलाई असुरक्षित महसुस भएको भन्दै प्रहरीलाई खबर गरेको कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए । सूचना प्राप्त भएपछि प्रहरीले उनलाई लगत्तै सुरक्षित स्थानमा लगेर राखेको उनको भनाइ छ ।
‘डिस्कोर्डमा राणालाई धम्की दिनेको व्यक्तिको खोजी भइरहेको छ,’ उनले विकासन्युजसँग भने, ‘प्रहरीले त्यस्ता समूहको तीव्रताको साथ खोजी तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ ।’
कार्यालयले जबरालाई कुनै कानुनी कारबाहीका लागि नभई सुरक्षाका कारण सुरक्षित स्थानमा राखिएको स्पष्ट पारेको छ ।
‘राणाको घरमा हाल सुरक्षाकर्मी तैनाथ गरिएको छ,’ कार्यालयका प्रमुख सन्तोष खडकाले भने,’ उहाँलाई मात्र थ्रेट आएको छ । परिवारलाई सुरक्षाको कुनै खतरा छैन ।’
प्रहरीले उनलाई निवासबाट १२ बजे उद्धार गरेको उनको भनाइ छ । प्रहरीले सुरक्षाको थ्रेट भएकाले उद्धार गरिएको उनले उल्लेख गरे ।
डिस्कोर्डमा पहिलेदेखि उनीविरुद्ध सुरक्षा थ्रेटको चेतावनी आइरहेको उनले बताए । ‘हामीलाई विशेष सूचना प्राप्त भएकाले समयमा सचेत भएर सुरक्षित स्थानमा लगिएको छ,’ उनले भने ।