कोशीको बाढीले सिंगो बस्ती डुब्यो

पाँच सय बढी परिवार प्रभावित

काठमाडाैं । सप्तकोशी नदीमा आएको बाढी तटीय बस्तीमा पसेपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका करिब पाँच सय घरपरिवार प्रभावित भएका छन् । नदीको बहाव बढेसँगै नगरपालिकाका कोशी तटीय क्षेत्रका चार वडाका बस्तीमा पानी पसेको हो ।

नगरप्रमुख वीरेन्द्र माझीका अनुसार वडा नम्बर ५, ७, १२ र १३ बाढीबाट बढी प्रभावित भएका छन् । कोशी नदीको बीच भागमा रहेको वडा नम्बर १३ को गोबरगाढा बस्ती भने पूर्ण रूपमा डुबानमा परेको उनले जानकारी दिए ।

बाढी बस्तीमा पसेपछि घर, आँगन तथा आसपासका क्षेत्रमा पानी जमेको छ । प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारेर अग्लो ठाउँमा पाल टाँगेर राखिएको नगरपालिकाले जनाएको छ । घरभित्र पानी पसेपछि खाना पकाउनसमेत समस्या भएपछि नगरपालिकाले शनिबारदेखि प्रभावितका लागि निःशुल्क सामूहिक भोजनको व्यवस्था गरेको छ ।

नगरप्रमुख माझीका अनुसार शनिबार मात्रै करिब एक हजार जनाले सामूहिक भोजनबाट खाना खाएका थिए । प्रभावितको अवस्था हेरेर आइतबार पनि उक्त व्यवस्था निरन्तरता दिइएको उनले बताए ।

बाढीका कारण वडा नम्बर ७ र १२ मा दुई-दुई परिवारका घर भत्किएका छन् । घरमा क्षति पुगेपछि ती परिवारलाई सुरक्षित स्थानमा सारिएको नगरपालिकाले जनाएको छ ।

सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिका-५ मा पनि सप्तकोशीको बाढी पसेको छ । जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार त्यहाँ करिब १५ घरपरिवार प्रभावित भएका छन् । उनीहरू हाल छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।

Share News