पञ्चासेमा सबैभन्दा धेरै वर्षा, धेरै नदीमा बाढीको जोखिम

काठमाडौं । पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा धेरै १८९ मिलिमिटर वर्षा भएको छ । लगातारको वर्षासँगै देशका विभिन्न नदीमा जलसतह बढ्दै गएपछि सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार पाल्पाको अर्चलेमा १७२ मिलिमिटर, गुल्मीको भार्सेमा १७०.८ मिलिमिटर, म्याग्दीको कुहुनमा १६५.२ मिलिमिटर र दर्वाङमा १६१ मिलिमिटर वर्षा मापन भएको छ ।

हाल कैलालीको भजनी र धनगढी विमानस्थल, म्याग्दीको बेनी, पर्वतको कार्कीनेटा, पाल्पाको अर्चले र स्याङ्जाको पाँचमूल क्षेत्रमा वर्षा भइरहेको केन्द्रले जनाएको छ ।

वर्षाका कारण बाँके, म्याग्दी, पर्वत, लमजुङ, चितवन र भोजपुरका विभिन्न नदी तथा खोलामा पानीको सतह सतर्कता तह नजिक पुगेको छ । बाँकेको किरन नाला र म्याग्दीको मङ्गलघाटमा नदीको जलसतह सतर्कता तहभन्दा माथि पुगेको केन्द्रले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायु सक्रिय छ भने पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । भारतको छत्तीसगढ र उत्तरपूर्वी मध्य प्रदेश क्षेत्रमा बनेको न्यून चापीय प्रणाली उत्तरपश्चिमतर्फ सर्दै दक्षिणपूर्वी उत्तर प्रदेशतर्फ जाने क्रममा रहेको र आगामी १२ घण्टामा कमजोर हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिबार बिहानदेखि काठमाडौं उपत्यकामा वर्षा रोकिए पनि देशभर अधिकांश स्थानमा बदली छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बागमती, कोशी र मधेस प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाले मधेस प्रदेशका तराई क्षेत्र तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा हावाहुरीको सम्भावना पनि रहेको जनाएको छ । पहाडी क्षेत्रका खोच र उपत्यकामा पनि हावाहुरी चल्न सक्ने भएकाले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, उद्धार र राहत कार्यमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Share News