काठमाडौं । चीनसँगको व्यापारका लागि प्रयोग हुँदै आएका दुई प्रमुख नाका बन्द भएपछि नेपाल-चीन व्यापारको चाप अहिले मुस्ताङको कोरला नाकातर्फ बढेको छ । तातोपानी र रसुवागढी नाका सञ्चालनमा नरहेपछि चीनबाट नेपाल भित्रिने सामानका लागि कोरला नाका प्रमुख विकल्प बनेको हो ।
चाडबाड नजिकिँदै जाँदा चीनबाट आउने उपभोग्य वस्तु, कपडा, जुत्ता, रेडिमेड सामग्रीदेखि मेसिनरी र अन्य सामान कोरला हुँदै भित्रिइरहेका छन् । तर, एकै नाकामा व्यापारिक चाप बढ्दा पूर्वाधार, सडक, जनशक्ति र भौगोलिक अवस्थाले चुनौती थपेको छ ।
भन्सार विभागका महानिर्देशक यमलाल भुसालका अनुसार कोरला नाकामा अहिले दैनिक औसत ४० देखि ५० कन्टेनर जाँचपास भइरहेका छन् । कुनै दिन ७० सम्म कन्टेनर पुग्ने गरेको छ भने कुनै दिन २०/३० मा सीमित हुने गरेको छ ।
‘पहिले सामान्य अवस्थामा ८/१० वटा गाडी चेकजाँच गरेर पठाउने गरिएकोमा अहिले ५०/६० वटासम्म गाडी जाँच गर्नुपर्ने अवस्था आएको छ । तातोपानी र रसुवागढीबाट आउने व्यापारसमेत कोरला हुँदै डाइभर्ट हुन थालेपछि नाकामा चाप बढेको हो,’ उनले विकासन्युजसँग भने ।
दुई नाका बन्द, कोरला एक्लै
नेपाल-चीन व्यापारका लागि प्रयोग हुने तातोपानी, रसुवागढी र कोरला गरी तीन प्रमुख नाका छन् । तर अहिले तातोपानी र रसुवागढी सञ्चालनमा नरहेकाले चीनतर्फको व्यापारिक आवागमनको ठूलो हिस्सा कोरलामै केन्द्रित भएको महानिर्देशक भुसालले जानकारी दिए । तातोपानी नाका कहिले सञ्चालनमा आउँछ भन्ने यकिन नभएको उनको भनाइ छ ।
भन्सार विभागका अनुसार सुरुमा नेपाली भूभागमा पहिरो गएपछि साउनको अन्त्यतिरदेखि व्यापार प्रभावित भएको थियो । त्यसपछि चिनियाँ पक्षबाट पनि नाका रोकिएको हो । यसको कारण पूर्वाधारसँग सम्बन्धित हो वा अन्य कारणले भन्ने विषयमा यकिन जानकारी आइसकेको छैन ।
नेपालले परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षसँग छलफल गरिरहेको भुसालको भनाइ छ । यसले चीनबाट नेपाल आउने व्यापारलाई वैकल्पिक मार्ग खोज्न बाध्य बनाएको उनी बताउँछन् । तातोपानी र रसुवागढीमा आउने सामानसमेत मुस्ताङतर्फ डाइभर्ट हुन थालेपछि कोरला भन्सारमा चाप थपिएको उनको भनाइ छ ।
राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन र भदौ) मा कोरला नाकाबाट हुने आयात र राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको भन्सार विभागले जनाएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा कोरला नाका हुँदै ८ अर्ब ३३ करोड २१ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ ।
अघिल्लो आव २०८२/८३ को सोही अवधिमा उक्त नाकाबाट १२ करोड १ लाख रुपैयाँ बराबरको मात्र आयात भएकोमा यस वर्ष सो परिमाणमा ठूलो उछाल आएको हो । विशेषगरी रसुवागढी र तातोपानी नाकाबाट हुने व्यापारको केही हिस्सा कोरला नाकातर्फ मोडिएपछि यहाँको व्यापारिक गतिविधि बढेको हो ।
भदौ १० गतेअघि (साउन र भदौ ९ सम्म) मुस्ताङ भन्सार कार्यालयबाट जम्मा ५३ लाख रुपैयाँ मात्र राजस्व सङ्कलन भएको थियो । सो ४० दिनको अवधिमा १६३ वटा विद्युतीय सवारीसाधन (ईभी) र १३३ वटा मालवस्तु कन्टेनरको जाँचपास भएको थियो । नाकामा सञ्चार र व्यापारिक चाप बढेसँगै राजस्व सङ्कलनमा पनि तीव्र प्रगति भएको छ ।
मुस्ताङ भन्सार कार्यालयका अनुसार साउन महिनामा २६ करोड ३९ लाख रुपैयाँ राजस्व सङ्कलन भएकोमा भदौ महिनामा मात्रै २ अर्ब ८१ करोड ५४ लाख रुपैयाँ राजस्व उठेको छ । यसरी पहिलो दुई महिनामा कुल ३ अर्ब ७ करोड ९३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ, जसमा मुख्य योगदान इभीको आयात रहेको छ ।
भन्सार कार्यालयले चालु आर्थिक वर्षका लागि ९ अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेकोमा व्यापारको दायरा बढेकाले लक्ष्यभन्दा बढी राजस्व उठ्ने सम्भावना देखिएको बताएको छ ।
‘पहिले १०, अहिले ६० गाडी’
कोरला भन्सारमा बढेको चापको प्रत्यक्ष असर भन्सारको दैनिक काममा देखिएको छ । भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार पहिले सामान्यतया ८/१० वटा गाडी चेकजाँच गरेर पठाउने गरिएकोमा अहिले ५०/६० वटासम्म गाडी जाँच गर्नुपर्ने अवस्था छ । चाडबाड नजिकिँदा व्यापारीहरूले तातोपानी र रसुवागढीबाट आउने सामानसमेत कोरला हुँदै ल्याउन थालेकाले कामको चाप बढेको उनको भनाइ छ ।
चाप व्यवस्थापन गर्न कार्यालयले काम गर्ने समयसमेत बढाएको छ । राजस्व संकलनमा देखिएको गतिविधिले पनि कोरला नाकामा व्यापारिक कारोबार बढेको संकेत गरेको उनको भनाइ छ । तर कोरला भन्सारको चुनौती केवल बढ्दो कारोबारमा सीमित छैन । भौगोलिक विकटता, प्रतिकूल मौसम, कमजोर पूर्वाधार र जनशक्ति व्यवस्थापन एकैपटक सामना गर्नुपर्ने अवस्था छ ।
कोरला नाकाबाट चीनबाट विभिन्न प्रकारका सामान नेपाल भित्रिन्छन् । मेसिनरीदेखि खाद्यान्न, कपडा, जुत्ता, रेडिमेड सामानलगायत उपभोग्य वस्तुसम्म यही नाकाबाट आउने गरेका छन् ।
भन्सार विभागका महानिर्देशक भुसाल पछिल्लो अवस्थामा कोरला नाकाबाट दिनमा ७०/८० वटासम्म कन्टेनर जाँचपास भएको बताउँछन् । तर कार्यालय प्रमुख चुडालले भने दैनिक संख्या निश्चित नरहेको र औसतमा ४०/५० कन्टेनर जाँचपास हुने बताए ।
यसरी हेर्दा दिनअनुसार कारोबारमा ठूलो उतारचढाव देखिए पनि अहिले कोरला भन्सारमा पहिलेको तुलनामा उल्लेख्य चाप परेको स्पष्ट हुन्छ ।
व्यापारीका लागि भने कोरला विकल्प बने पनि सहज विकल्प बन्न सकेको छैन । तातोपानी र रसुवागढी दुवै नाका बन्द भएपछि कोरलातर्फ चाप बढ्नु स्वाभाविक भए पनि आयात प्रक्रियामा समस्या कायमै रहेको हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की बताउँछन् ।
उनका अनुसार चाडबाडको समयमा आयात कसरी सहज र बढाउन सकिन्छ भन्ने विषयमा सरकारसँग छलफल भइरहेको छ । तर कोरला पुग्ने सडक नै साँघुरो भएकाले ठूलो परिमाणमा सामान ओसारपसार गर्न समस्या भइरहेको छ । चाडबाडका लागि बजारमा माग बढ्ने समयमा आयातको वैकल्पिक बाटो बनेको कोरलाले त्यसअनुसारको पूर्वाधार भने अझै तयार गरिसकेको नसकेको उनको भनाइ छ ।
भन्सार छ, पूर्वाधार अपुग
भन्सार अधिकारीहरूका अनुसार कोरला नाकामा पछिल्लो समय केही सुधार गरिएको छ । क्वारेन्टाइनको व्यवस्था गरिएको छ भने कर्मचारीसमेत थपिएका छन् । तर अहिलेको व्यापारिक कारोबारको आकारलाई धान्ने गरी भौतिक संरचना भने पर्याप्त छैन ।
कोरला भन्सारमा रहेका भवनहरू अहिलेको कारोबारको आकारलाई लक्षित गरेर निर्माण गरिएका होइनन् । सडकको केही भाग अझै पक्की हुन बाँकी छ । भन्सार भवन र अन्य कार्यालयीय पूर्वाधार पनि थप विस्तार गर्नुपर्ने अवस्था छ । त्यसका लागि योजना बनिरहेको अधिकारीहरू बताउँछन् ।
अहिलेको आवश्यकता तत्कालको व्यापार धान्ने व्यवस्थापन मात्र होइन, भविष्यमा चीनसँगको व्यापार विस्तार हुँदा त्यसलाई समेत धान्न सक्ने पूर्वाधार निर्माण गर्नु आवश्यक रहेको उनीहरूको भनाइ छ ।
जनशक्ति थपियो, समस्या उस्तै
रसुवामा भएको बाढीको घटनापछि कोरला नाकामा व्यापारिक चाप बढ्ने अनुमानसँगै भन्सार कार्यालयले जनशक्ति थपेको छ । भन्सार विभागका अनुसार कोरलामा ६/७ जना नयाँ अधिकृत तथा सहायकस्तरका कर्मचारी पठाइएको छ । त्यसैगरी, पहिले रिक्त रहेका ६ दरबन्दीसमेत पूर्ति गरिएको छ । तर कर्मचारी थपिँदैमा सबै समस्या समाधान हुने अवस्था छैन । अधिकारीहरूकै अनुसार भौगोलिक विकटता, मौसम, पूर्वाधार र कर्मचारी व्यवस्थापन सबै चुनौती एकैपटक रहेका छन् ।
कोरला नाकाको अर्को समस्या कर्मचारीका लागि आवश्यक आवास तथा कार्यालयीय सुविधा हो । कार्यालय प्रमुख चुडालका अनुसार बस्नै नसक्ने अवस्था नभए पनि उच्चस्तरको सुविधा छैन । दु:खसुख गरेर काम चलिरहेको उनी बताउँछन् ।
यो अवस्थाले व्यापारिक कारोबार बढ्दै जाँदा भन्सार प्रशासनले सामना गर्नुपर्ने अर्को चुनौती देखाउँछ । व्यापारको आकार बढिरहेको छ, तर त्यसअनुसार कार्यालय, आवास, सडक र अन्य पूर्वाधार विस्तारको गति कति छ भन्ने प्रश्न अझै बाँकी छ ।
चाडबाडको माग धान्न सक्ला ?
नेपालमा दशैं-तिहारजस्ता ठूला चाडबाड नजिकिँदै गर्दा बजारमा उपभोग्य वस्तुको माग बढ्ने गर्छ । यस्तो समयमा चीनबाट आउने सामानको ठूलो हिस्सा दुई प्रमुख नाका बन्द हुँदा एउटै वैकल्पिक नाका कोरलामा निर्भर भएको छ । भन्सारको राजस्व संकलन र कारोबार पनि बढेको विभागको भनाइ छ ।
तातोपानी नाका कहिले खुल्छ भन्ने अझै टुंगो छैन । रसुवागढी नाकाको अवस्थाले पनि व्यापारिक आपूर्ति प्रणालीलाई थप प्रभावित गरेको छ ।
त्यसैले अहिलेको मुख्य प्रश्न कोरला नाकाबाट सामान आइरहेको छ कि छैन भन्ने मात्र होइन, चाडबाडको चरम मागका बेला एक्लै कोरलाले व्यापारको चाप कति धान्न सक्छ भन्नेमै गम्भीर प्रश्न उठ्न थालेको छ ।
अन्य सामग्रीहरू :
दशैं-तिहार नजिकिँदा खाद्यान्नको मूल्य आकासियो
अपि पावर अब रियल स्टेटमा, कम लागतमा हाउजिङ बनाउने
बाढी प्रभावित हाइड्रोलाई सहुलियत र ब्याज भुक्तानीमा समय थप्नुपर्छ
किन सास्ती भयो राहदानी र सवारी लाइसेन्स लिन ?
चिलिमेलाई एक वर्षभित्र पुरानै लयमा फर्काउँछौं
ग्यासमा मासिक १० अर्ब घाटा, विद्युतीय चुलो चलाउन किन छैन जोड ?