काठमाडौं । विभिन्न दल छाडेका युवाहरूले देश र मधेशका लागि विचारसहितको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले ‘हुंकार मधेश’ अभियान घोषणा गरिएको छ ।
शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै शक्तिशाली राजनीतिक संगठनको जग निर्माण तथा सक्षम र योग्य युवा नेतृत्व तयार गर्ने लक्ष्यसहित उक्त अभियान घोषणा गरिएको हो ।
अभियान घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय मुक्ति पार्टी नेपाल छाडेका केशव झाले युवापुस्ताहरूलाई राजनीतितर्फ आकर्षित गर्ने उद्देश्यले अभियान अघि बढाइएको बताए ।
उनले राजनीतिलाई ‘डर्टी गेम’का रूपमा चित्रित गर्ने प्रवृत्तिका कारण सक्षम र विद्वान व्यक्तिहरू राजनीतिबाट टाढिँदै गएकोमा चिन्ता व्यक्त गरे ।
उनले मधेश केन्द्रित राजनीतिक दलहरूसँग एउटै दल बनाएर अघि बढ्न आफूहरूले राखेको प्रस्ताव स्वीकार नगरेको कारण अभियान अघि बढाइएको जानकारी दिए ।
राजनीतिलाई समाजको सबैभन्दा जानकार, शिक्षित र आत्मनिर्भर व्यक्तिहरूले नेतृत्व गर्नुपर्ने उनको भनाइ छ ।
उनले राजनीतिक नेतृत्वले आफ्नो व्यक्तित्व र सामाजिक सम्मान पुनर्स्थापित गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।
झाले राजनीतिलाई ट्र्याकमा ल्याउँदै युवा पुस्तालाई राजनीतिमा जोड्ने अभियानको मुख्य लक्ष्य रहेको पनि बताए।