भारी वर्षाले कांग्रेसको क्षेत्रीय अधिवेशन प्रभावित

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको कार्यतालिका प्रभावित भएको छ । 

निरन्तर वर्षाका कारण क्षेत्रीय अधिवेशनको कार्यतालिका प्रभावित भएको हो ।

केन्द्रीय निर्वाचन समितिले बिहीबार विज्ञप्ति जारी गर्दै मौसमको अवस्था हेरेर क्षेत्रीय अधिवेशनको मिति व्यवस्थापन गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

समितिका सदस्यसचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिअनुसार मौसम अनुकूल रहेका क्षेत्रमा असोज १० गतेकै निर्धारित मितिमा प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्नुपर्नेछ ।

तर भारी वर्षा वा अन्य प्रतिकूल मौसमका कारण निर्वाचन सञ्चालन गर्न कठिनाइ भएका क्षेत्रमा सम्बन्धित जिल्ला तथा क्षेत्रीय कार्यसमितिसँग समन्वय गरी असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्नुपर्ने कटुवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न जिल्लामा भइरहेको भारी वर्षाका कारण अधिवेशन प्रक्रिया प्रभावित भइरहेको जानकारी निर्वाचन अधिकृतहरूबाट प्राप्त भएको समितिले जनाएको छ ।

केही दिन अझै वर्षा कायम रहने भन्दै मौसम विभागलगायतका निकायले सतर्कता अपनाउन सूचना जारी गरेको अवस्थालाई समेत निर्णयको आधार बनाइएको कटुवालले बताए ।

कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेको छ भने गाउँ तथा नगर अधिवेशन जारी छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भइसकेको छ ।

अब क्षेत्रीय अधिवेशनको हकमा भने स्थानीय मौसम र परिस्थितिअनुसार निर्वाचनको मिति केही दिन सार्न सकिने भएको छ । यसले असोज १० गते सबै क्षेत्रमा एकैपटक क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने पूर्वनिर्धारित कार्यतालिकामा लचकता ल्याएको छ । 

कांग्रेसको १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा वर्षाका कारण प्रभावित निर्वाचन कार्यक्रमलाई असोज १३ गतेभित्रै टुंग्याउने गरी निर्वाचन समितिले समयसीमा तोकेको हो ।

Share News