लगातारको वर्षाका कारण प्रमुख राजमार्गहरू प्रभावित, कृष्णभीर खण्डमा गाडी चलाउन रोक

काठमाडौं ।  लगातारको वर्षाका कारण देशका विभिन्न प्रमुख राजमार्गहरू प्रभावित भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा सडकको नदीतर्फको ग्याबियन जाली केही तल झरेपछि जोखिम बढेको छ । यद्यपि हाल सञ्चालनमा रहेको सडकको माथिल्लो भागको स्लोपमा भने कुनै समस्या नदेखिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयकाअनुसार सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि सो सडक खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको छ भने परियोजना टोलीले सडकको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको छ ।

गत भदौको बाढीका कारण पृथ्वी राजमार्गको मुख्य खण्डमा क्षति पुगेपछि यातायात सहज बनाउने उद्देश्यले तत्कालका लागि वैकल्पिक ट्र्याक निर्माण गरिएको थियो । निरन्तरको वर्षापछि नदीको बहाव र कटान अझै नरोकिएका कारण उक्त नयाँ निर्माण गरिएको सडक पनि सुरक्षित नरहेको विज्ञहरूले औंल्याएका छन् । 

निर्माण भइसकेको ट्रयाकको तल्लो तटीय क्षेत्रबाट त्रिशूली नदीले जमिन कटान जारी राखेकाले सडकको जग कमजोर बन्दै गएको छ । 

हाल पृथ्वी राजमार्गका विभिन्न सात स्थानमा पहिरोका कारण सडक खण्ड अवरुद्ध हुँदै आएको छ । कृष्णभीरको भौगोलिक अवस्था आफैंमा निकै कमजोर र संवेदनशील मानिन्छ । त्यसमाथि नदीको कटानले निरन्तरता पाएकाले तत्काल दिगो समाधान नखोजिए पुनः सडक सम्पर्क विच्छेद हुने जोखिम उच्च छ । 

सडक डिभिजन कार्यालयले प्राविधिक टोलीमार्फत अवस्थाको अनुगमन गरिरहेको भए पनि नदी नियन्त्रणको कार्य चुनौतीपूर्ण बनेको छ । राजमार्गको यो खण्ड मुलुकको राजधानी काठमाडौंलाई जोड्ने मुख्य लाइफलाइन भएकाले यसको संरक्षणमा गम्भीरता अपनाउनुपर्ने आवश्यकता देखिएको छ । 

यसैगरी, कान्ति लोकपथमा हालसम्म सडकमा कुनै ठूलो क्षति वा मुख्य समस्या नदेखिए पनि सतर्कता अपनाउँदै स्थानीय प्रशासनले अर्को सूचना नआएसम्मका लागि सवारी साधन आवतजावतमा प्रतिबन्ध लगाएको छ । त्रिभुवन राजपथमा भने हालसम्म कुनै समस्या नदेखिएकाले यातायात सेवा सुचारु नै रहेको छ । 

यता बीपी राजमार्गको भर्खरै मर्मत तथा निर्माण काम सुरु भएको खण्डको डाइभर्सनमा केही समस्या आएको छ । सो राजमार्गका अन्य स्थानमा भने खासै समस्या नदेखिएको भए पनि सुरक्षाका कारण स्थानीय प्रशासनले अर्को सूचना नभएसम्मका लागि यातायात सञ्चालनमा रोक लगाएको छ ।

हाल समग्र सडक सञ्जालको अवस्थाबारे निरन्तर निगरानी तथा अनुगमन भइरहेको सम्बन्धित निकायले जनाएका छन् ।

Share News