काठमाडौं । काठमाडौंका खोला नदी किनारा पानीको सतह बढेपछि तीन वटै सुरक्षा निकायलाई अर्लटमा राखिएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले खोला नदीमा पानीको बहाव बढेसँगै सम्भावित क्षति हुन नदिन सुरक्षा निकायलाई 'अलर्ट' गरेको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र काठमाडौं महानगर प्रहरीलाई पूर्ण रुपमा हाइ अर्लट गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खिमराज भुसालले जानकारी दिए।
'अहिलेसम्म काठमाडौंका कुनै पनि ठाउँमा वर्षाको कारण क्षति भएको छैन,' उनले विकासन्युजसँग भने ।
भुसालले काठमाडौंमा क्षति नहोस भनेर खोला नदीका क्षेत्रमा सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको बताए । उनका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गरेर सबैलाई सचेत गराइएको छ ।
जोखिम क्षेत्रमा गएर माइकिङ गरिएको छ । उद्धार तयारीको सामग्रीसहित सुरक्षाकर्मी परिचालन भएका छन ।
जिल्ला विपद व्यवस्थापन समितिले काठमाडौंका सबै स्थानीय तहसँग छलफलसमेत गरेको उनले बताए । सबै निकाय तयारी अवस्थामा रहेको उनको भनाइ छ ।