काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न आदेश दिएको छ ।न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दाहाललाई रिहा गर्न आदेश दिएको हो ।
दाहालकी छोरी डेनिकाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही रिटमा सुनुवाइ गर्दै सर्वोच्चले दाहाललाई रिहा गर्न आदेश दिएको हो ।
उनी असोज ४ गते मोरङको सुन्दरहरैंचा- ८ सलकपुरस्थित चिया पसलबाट पक्राउ परेका थिए ।
दाहालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा दाहाललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
दाहालमाथि अमेरिकी सञ्चारमाध्यम ‘ग्रे जोन’ले नेपालमा भएको जेनजी आन्दोलनका बारेमा सार्वजनिक गरेको रिपोर्ट सामाजिक सञ्जालमार्फत फैलाएको आरोप छ ।