काठमाडौं । नेकपा एमालेको चार दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले पार्टीको नेतृत्व संरचना, संगठन विस्तार र समसामयिक राजनीतिक विषय समेटिएका २२ वटा निर्णय गरेको छ ।
ललितपुरको भनिमण्डलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ ।
बैठकले पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टीको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेता पदमा मनोनीत गर्ने निर्णयसमेत गरेको छ ।
पार्टीको नेतृत्व संरचनामा गरिएको अर्को महत्त्वपूर्ण निर्णयअन्तर्गत ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र देवराज घिमिरेसहित सात जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरिएको छ ।
त्यस्तै, २० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय बैठकले गरेको छ ।
महासचिव शंकर पोखरेलद्वारा जारी बैठकका निर्णयसम्बन्धी वक्तव्यअनुसार केन्द्रीय कमिटीले मुलुकका समसामयिक राजनीतिक तथा राष्ट्रिय मुद्दामाथि समेत धारणा सार्वजनिक गरेको छ ।
बैठकले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, राहत तथा पुनस्र्थापनाका कामलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।
चार दिनसम्म चलेको बैठकले पार्टीको आगामी कार्यदिशा, संगठनात्मक व्यवस्थापन तथा समसामयिक राजनीतिक विषयमा निर्णय गर्दै सम्पन्न भएको एमालेले जनाएको छ ।