अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक

काठमाडौं । अविरल वर्षा र पहिरोको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्गमा बिहीबार रातिदेखि सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको  छ ।  

जिल्ला प्रशासन कार्यालय धादिङले एक जरुरी सूचना जारी गर्दै असोज ८ गते बिहीबार बेलुका ८ बजेदेखि असोज ९ गते शुक्रबार बिहान ५  बजेसम्मका लागि पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारी साधनको आवागमन बन्द गरिएको जनाएको छ ।   

जल तथा मौसम विज्ञान विभागले धादिङ र आसपासका क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि सम्भावित बाढी, पहिरो र डुबानको जोखिमबाट यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न यो निर्णय लिइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले जानकारी दिइन् । 

प्रशासनले अत्यावश्यक अवस्थाबाहेक मौसम र सडकको स्थिति नबुझी यात्रा नगर्न, पहिरोग्रस्त तथा जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षा निकायका निर्देशनहरूको पूर्ण पालना गर्न सबैमा आग्रह गरेको छ । 

साथै, जुनसुकै समयमा हुन सक्ने विपद् व्यवस्थापन र उद्धारका लागि जिल्ला आपत्कालीन सञ्चालन केन्द्र तथा सुरक्षा निकायका हटलाइन नम्बरहरू खुला राखिएको जनाइएको छ ।

Share News