काठमाडौं । रसुवाको भोटेकोशी बाढीले क्षतिग्रस्त बनाएको नुवाकोटको बेलकोटगढीस्थित पिमलटार-जागाराम झोलुङ्गे पुलको पुनर्निर्माण कार्य सम्पन्न गरी सरकारले आवतजावत पूर्णरूपमा सूचारु गरेको छ ।
बाढीबाट क्षतिग्रस्त उक्त पुलका बटारिएका लठ्ठा सोझ्याउने, ह्यान्ड रेल केबल फेर्ने तथा स्टिल डेक र बिम जडान गरी आज जाली राख्ने कार्य पूरा भएसँगै पुल सञ्चालनमा ल्याइएको हो ।
पूर्वाधार विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास विभागले बाढी प्रभावित क्षेत्रमा पुल पुनर्निर्माण तथा मर्मत कार्यलाई तीव्रताका साथ अघि बढाएको छ ।
सरकारको तीव्र पहलकदमीका कारण धादिङ, नुवाकोट र गोरखामा पर्ने अन्य १२ वटा झोलुङ्गे पुलहरूको मर्मत कार्य पनि अन्तिम चरणमा पुगेको छ ।
जसमा कालिकास्थान, मालिङ्गा-मझुवाटार दोभान, महेशदोभान, केउरेनी-गहते, चिरौंदी खोला, शीतलबजार(क्युरेनीटार, बेल्खु-भुतिया, बादरे, महादेवस्थान, फोस्रेटार, जिलिङ र धवादीघाट झोलुङ्गे पुल समावेश छन् । अबको एक हप्ताभित्र ती पुलहरू पनि सञ्चालनमा आइसक्नेछन् ।
यसैगरी, बाढीबाट क्षति पुगेका थप ७ वटा झोलुङ्गे पुलको मर्मत कार्य सुरु भइसकेको छ । त्यसका लागि स्टिल पार्ट्स व्यवस्थापनतर्फ पहिलो चरणको खरिद सम्पन्न भइसकेको छ भने दोस्रो चरण खरिदका लागि सम्झौता भइसकेको छ ।
त्यस्तै, बाढीबाट पूर्ण क्षति भएका ३३ वटा झोलुङ्गे पुलको नयाँ रूपमा पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० को काम अन्तिम तयारीमा पुगेको छ ।