देशभर २८ खेलकुद पूर्वाधार निर्माण गरिने, पूर्वाधार मन्त्रालय र राखेपबीच सम्झौता

कुन खेलका लागि के-कस्ता पूर्वाधार बन्दैछन् ?

काठमाडौं । नेपालमा व्यावसायिक खेलकुदको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले देशभर २८ वटा खेलकुद पूर्वाधार निर्माण तथा स्तरोन्नति गर्ने भएको छ । पूर्वाधार विकास मन्त्रालयले फुटबल, क्रिकेट र इन्डोर खेलकुदका लागि यी पूर्वाधारहरू तयार पार्न लागेको हो । 

खेलकुद पूर्वाधार निर्माण, सहजीकरण, स्वामित्व हस्तान्तरण तथा सञ्चालनलाई व्यवस्थित बनाउने उद्देश्यले पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच बिहीबार औपचारिक सम्झौता भएको छ । 

सम्झौतापत्रमा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहरा र राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रामचरित्र मेहताले हस्ताक्षर गरेका छन् ।

विगतमा स्पष्ट मोडालिटीको अभावमा निर्माण भएका कतिपय खेलकुद पूर्वाधारहरू अलपत्र परेको वा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै यो सम्झौता गरिएको हो । 

सम्झौताअनुसार पूर्वाधार विकास मन्त्रालयले निर्माणसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्नेछ भने निर्माण सम्पन्न भइसकेपछि ती पूर्वाधारको सञ्चालन र रेखदेखको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद्ले लिनेछ ।

कुन खेलका लागि के-कस्ता पूर्वाधार बन्दैछन् ?

देशका मुख्य १० शहरहरूमा नयाँ निर्माण तथा स्तरोन्नतिमार्फत रंगशालाको विकास गरिनेछ । यसअन्तर्गत झापाको मेची रंगशाला र आदिवासी जनजाति रंगशाला, पर्साको नारायणी रंगशाला, चितवन रंगशाला, नेपालगञ्ज रंगशाला, सुर्खेत रंगशाला, धनगढी रंगशाला, काठमाडौंको दशरथ रंगशाला, पोखरा रंगशाला, बुटवल एन्फा कम्प्लेक्स, विराटनगरको शहीद रंगशाला, धरान रंगशाला र कोहलपुर फुटबल रंगशालाको काम अघि बढाइनेछ ।

प्रत्येक प्रदेशमा फ्रेन्चाइज क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सहज हुने गरी ८ हजार दर्शक क्षमताका फ्लडलाइटसहितका क्रिकेट मैदान निर्माण गरिनेछ । 

यसअन्तर्गत जनकपुरको रामजानकी, विराटनगरको बैजनाथपुर, कोहलपुरको शहीद सुलभ, सुर्खेतको चाँदनी चोक, धनगढीको फाप्ला, काठमाडौंको तल्लो मुलपानी, पोखरा क्रिकेट रंगशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालाको स्तरोन्नति तथा निर्माण गरिनेछ ।

भलिबल, बास्केटबल र कबड्डीलगायतका इन्डोर खेलका फ्रेन्चाइज इभेन्टहरू आयोजना गर्न सातै प्रदेशमा बहुउद्देश्यीय इन्डोर स्टेडियम निर्माणका लागि बजेट विनियोजन गरिएको छ । 

जसअनुसार कोशीको विराटनगर, मधेशको लहान (सिरहा), बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको कर्णाली प्रदेश रंगशाला र सुदूरपश्चिमको फाप्ला खेलग्राममा यस्ता बहुउद्देश्यीय कभर्डहल बन्नेछन् । 

देशका मुख्य शहर र सातै प्रदेशलाई लक्षित गरी आयोजना गर्न लागिएका यी पूर्वाधार निर्माणले नेपाली खेलकुद क्षेत्रको व्यवसायीकरण र समग्र विकासमा ठोस योगदान पुर्याउने अपेक्षा सरकारले राखेको छ ।

Share News