काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको वरिष्ठ नेता बनाउने प्रस्ताव अघि बढाइएको छ ।
एमालेको केन्द्रीय सचिवालयले भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गर्दै उक्त प्रस्ताव केन्द्रीय कमिटीमा अनुमोदनका लागि पेस गर्ने निर्णय गरेको हो ।
सचिवालयको निर्णयसँगै भण्डारीको सक्रिय पार्टी राजनीतिमा पुनरागमनको औपचारिक प्रक्रिया अघि बढेको छ । अब केन्द्रीय कमिटीले सचिवालयको प्रस्ताव अनुमोदन गरेसँगै उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिने बाटो खुल्नेछ ।
एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पार्टीको सांगठनिक संरचना, नेतृत्व व्यवस्थापन र आगामी राजनीतिक कार्यदिशाबारे छलफल भइरहेका बेला भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव अघि सारिएको हो ।
भण्डारी एमालेकी पूर्वउपाध्यक्ष हुन् । उनी २०७२ सालमा पहिलोपटक र २०७४ सालमा दोस्रोपटक राष्ट्रपति निर्वाचित भएकी थिइन् ।
सचिवालयको प्रस्ताव केन्द्रीय कमिटीबाट अनुमोदन भएमा भण्डारी एमालेको औपचारिक नेतृत्व संरचनामा वरिष्ठ नेताका रूपमा पुनः प्रवेश गर्नेछिन् ।