घिरौँलामा भेटियो विषादी, विसर्जन गर्न निर्देशन

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएको घिरौँला मानव उपभोगका लागि अयोग्य भेटिएको छ । 

विषादी अवशेष द्रुत विश्लेषण गर्दा घिरौँलामा तोकिएको सीमाभन्दा अत्यधिक विषादी भेटिएपछि नमुना तत्काल विसर्जन गर्न निर्देशन दिइएको हो ।

केन्द्रीय कृषि प्रयोगशाला, हरिहरभवनअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, कालीमाटीले २०८३ असोज ८ गते बजारमा ल्याइएका तरकारी तथा फलफूलका १० वटा नमुना परीक्षण गरेको थियो ।

परीक्षणका क्रममा स्टल नं १ का व्यापारी कृष्णबहादुर धितालले बेच्न राखेको धादिङको गजुरी गाउँपालिकामा उत्पादित घिरौँलामा अर्गानोफोस्फेट समूहको कीटनाशक विषादीको रोकावट दर ५० दशमलव ०७४४ प्रतिशत भेटिएको प्रयोगशालाले जनाएको छ । 

प्रयोगशालाको मापदण्डअनुसार विषादीको रोकावट दर ४५ प्रतिशतभन्दा बढी भएमा त्यस्तो तरकारी तथा फलफूल मानव उपभोगका लागि अयोग्य मानिन्छ । सोही आधारमा प्रयोगशालाले घिरौँलाको नमुना तत्काल विसर्जन गर्न केन्द्रीय कृषि प्रयोगशाला र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई पत्राचार गरेको छ ।

यसपटक परीक्षण गरिएका अन्य ९ वटा नमुनामा भने विषादीको मात्रा उपभोगयोग्य सीमाभित्र भेटिएको छ। गोलभेंडा, काँक्रो, बन्दागोभी, कन्ये च्याउ, काउली, बोडी, भान्टा र घिउसिमीमा ३५ प्रतिशतभन्दा कम रोकावट देखिएको प्रयोगशालाले जनाएको छ।

विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन राखेर पुनः परीक्षण वा पर्खनुपर्ने र ४५ प्रतिशतभन्दा बढी भए तत्काल विसर्जन गर्नुपर्ने मापदण्ड लागू गर्दै आएको छ ।

यो द्रुत परीक्षण कार्वामेट र अर्गानोफोस्फेट समूहका कीटनाशक विषादीका लागि मात्र लागू हुने प्रयोगशालाले जनाएको छ । 

Share News