इसेवा र सिटिजन्स बैंकको सहकार्यमा ‘स्वावलम्बन कर्जा’ सुरु

काठमाडौं । इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गर्दै ‘स्वावलम्बन कर्जा’ डिजिटल कर्जा सुविधा सुरु गरिएको छ ।

काठमाडौंस्थित भिभान्तामा आयोजित कार्यक्रममा उक्त कर्जा सुविधा सार्वजनिक गरिएको हो । यस सुविधाले कर्जा लिन आवश्यक लामो प्रक्रिया, कागजी काम तथा बैंकसम्म भौतिक रूपमा पुग्नुपर्ने अवस्थालाई सहज बनाउने उद्देश्य राखेको छ ।

‘स्वावलम्बन कर्जा’मार्फत योग्य अपाङ्गता भएका व्यक्तिले इसेवा एपबाटै कर्जाका लागि आवेदन दिन सक्नेछन् । यसअन्तर्गत १० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म कर्जा लिन सकिनेछ । कर्जाको वार्षिक ब्याजदर ९.९९ प्रतिशत र प्रशोधन शुल्क ०.७५ प्रतिशत तोकिएको छ ।

योग्य प्रयोगकर्ताले इसेवा एपको गृहपृष्ठमा रहेको ‘स्वावलम्बन कर्जा’को ब्यानरमा क्लिक गरी आवेदन प्रक्रिया पूरा गर्न सक्नेछन् ।

कर्जाका लागि इसेवा खाता केवाईसी प्रमाणित भएको, नेपाल सरकारबाट जारी अपाङ्गता परिचयपत्र भएको, कम्तीमा ६ महिनादेखि इसेवा प्रयोग गर्दै आएको तथा तलब वा व्यवसायबाट नियमित आम्दानी हुने हुनुपर्नेछ । कर्जा स्वीकृति सम्बन्धित मूल्याङ्कन तथा बैंकका लागू सर्तअनुसार हुने जनाइएको छ ।

कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले डिजिटल प्रविधिको प्रयोगमार्फत अपाङ्गता भएका व्यक्तिका लागि कर्जामा पहुँचलाई सरल र सहज बनाउन ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको बताए ।

उनले वित्तीय पहुँच कुनै पनि व्यक्तिको शारीरिक अवस्थाका कारण सीमित हुन नहुने भन्दै ‘स्वावलम्बन कर्जा’ एउटा उत्पादन मात्र नभई नयाँ अवधारणाको सुरुवात भएको बताए ।

त्यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख सञ्चालन अधिकृत रोशन मानन्धरले अपाङ्गता भएका व्यक्तिको औपचारिक कर्जामा पहुँच विस्तार गर्न इसेवासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

उनले ‘स्वावलम्बन कर्जा’ले अपाङ्गता भएका व्यक्तिको व्यक्तिगत तथा आर्थिक आवश्यकतालाई सहयोग गर्ने वित्तीय समाधान उपलब्ध गराउने अपेक्षा गरिएको बताए ।

कार्यक्रममा ‘स्वावलम्बन कर्जा’ सुविधाबारे जानकारी दिनुका साथै प्रत्यक्ष कर्जा वितरण, एक सहभागीको अनुभव र यस पहलसम्बन्धी वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो ।

Share News