काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपालका लागि ‘बुल मेसिन’ निर्माण उपकरणको आधिकारिक वितरक अटोवेज प्रालिबीच बुल मेसिन खरिद गर्ने ग्राहकलाई सहज कर्जा उपलब्ध गराउने उद्देश्यले व्यावसायिक सम्झौता भएको छ ।
असोज ८ गते भएको समझदारीपत्र (एमओयू) मा बैंकका गण्डकी प्रदेश प्रमुख बाबुराम ढकाल र अटोवेज प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार ग्राहकले खरिद गर्ने बुल मेसिनलाई नै धितो राखेर बैंकले डिलरको बिल वा इनभ्वाइस मूल्यको ५० प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ ।
यस्तै, ग्राहकले बैंकले स्वीकार गर्ने थप स्थिर सम्पत्ति धितो राखेमा बैंकको कर्जा मूल्यांकन र प्रचलित कर्जा नीतिअनुसार डिलरको इनभ्वाइस मूल्यको ८० प्रतिशतसम्म कर्जा न्यूनतम ब्याजदरमा उपलब्ध हुने बैंकले जनाएको छ ।
बैंकका अनुसार यस सहकार्यले निर्माण व्यवसायमा संलग्न ग्राहकलाई आवश्यक निर्माण उपकरण खरिद गर्न वित्तीय पहुँच विस्तार गर्नेछ । उत्पादनशील क्षेत्रमा लगानी बढाउन र निर्माण क्षेत्रलाई आवश्यक वित्तीय सहयोग उपलब्ध गराउने उद्देश्यले यो सहकार्य गरिएको बैंकको भनाइ छ ।
मुक्तिनाथ विकास बैंकले आवास, अटो, कृषि तथा साना, मझौला र लघु उद्यम (एसएमई) लगायतका विभिन्न कर्जा सुविधा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराउँदै आएको जनाएको छ ।