तीन दिन भारी वर्षा र हिमपातको जोखिम, सतर्क रहन मौसमविद्को आग्रह

मौसमविद् डेविड ढकाल

काठमाडौं । मौसम विज्ञान विभागका मौसमविद् डेविड ढकालले बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणाली शक्तिशाली बन्दै गएको उल्लेख गर्दै त्यसको प्रभाव नेपालमा समेत पर्ने बताएका छन् ।

बुधबार उक्त प्रणाली बिहीबार बिहानसम्म भारतको उत्तर प्रदेश, आन्ध्र प्रदेश तथा दक्षिण ओडिसाको तटीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने सम्भावना रहेको बताए । उनले बंगालको खाडीमा विकसित मौसमी प्रणालीको प्रभावले नेपालमा जलवाष्पयुक्त हावा भित्रिने भएकाले यही शुक्रबारदेखि आगामी आइतबारसम्म भारी वर्षाको सम्भावना रहेको बताए ।

उनले मनसुनी गतिविधि समेत कायमै रहेको कारण वर्षाले जनजीवन प्रभावित हुन सक्नेतर्फ सबै सचेत रहन आवश्यक रहेको बताए । मौसमविद् ढकालले बिहीबार कोशी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको पनि बताए । बिहीबारको तुलनामा त्यसपछिका तीन दिनमा वर्षाको मात्रा बढ्ने उनको भनाइ छ । उनले आगामी तीन दिनमा लुम्बिनी र गण्डकी प्रदेशमा धेरै वर्षाको सम्भावना रहेको पनि बताए ।

उनले भने, ‘बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणाली अहिले गहिरो न्यून चापीय प्रणालीमा प्रवेश गरेको छ । यसले आज बेलुका वा भोलि बिहानसम्ममा भारतको उत्तर प्रदेश, आन्ध्र प्रदेश र दक्षिण ओडिसाको तट नजिकबाट जमिनको सतहमा प्रवेश गर्ने देखिएको छ । यसले नेपालमा पनि वर्षा गराउने जस्तो देखिएको छ । न्यून चापीय प्रणाली भारतका जमिनका सतहमा हुने र त्यसको असर नेपालमा पनि पर्ने जस्तो देखिएको छ ।'

मौसमविद् ढकालले यही अवधिमा उच्च हिमाली क्षेत्रमा समेत भारी हिमपातको सम्भावना रहेको बताए । यसले पर्वतारोहणलगायतका गतिविधिमा असर पर्न सक्ने उनको भनाइ छ । अहिले पर्वतारोहणको याम चलिरहेको कारण यसतर्फ सरोकारवाला पक्ष सचेत र सतर्क हुनुपर्ने उनले बताए ।

उनले भने, ‘यही प्रणालीको कारणले उच्च पहाडी तथा हिमाली भू–भागहरूमा बढी प्रभाव पार्ने नै सम्भावना देखिन्छ । यतिबेला पर्वतारोहण याम भएको कारण भारी हिमपातको सम्भावना रहेको कारणले गर्दा बढी प्रभावित हुने देखिन्छ ।’

मौसमविद् ढकालले मनसुनका क्रममा लगातार वर्षा भइरहे पनि पछिल्ला केही दिनमा वर्षाको मात्रा घटेको कारण अब एक्कासि वर्षा भए कमजोर भू–भागमा पहिरोको जोखिमसमेत बढ्ने बताए । उनले भारी वर्षाका कारण नदी तथा तटीय क्षेत्रमा बाढीको जोखिम रहेको उल्लेख गर्दै सतर्कता अपनाउन आग्रह गरे ।

उनले वर्षाको सम्भावनालाई ध्यानमा राख्दै विज्ञको सल्लाहअनुसार मात्र धानबाली भित्र्याउन तथा अन्य कृषि कार्य गर्नसमेत आग्रह गरे ।

उनले भने, ‘मनसुनमा लगातार वर्षा भइरहेको भए पनि पछिल्लो केही दिनमा त्यस्तो वर्षा भएको छैन । अब एक्कासि भारी वर्षा भएमा कमजोर भू–भाग भएका क्षेत्रमा पहिरो जाने देखिएको छ । त्यसैगरी, भारी वर्षाका कारण तल्लो तटीय क्षेत्रका खोलानालाहरू पनि बढ्ने देखिन्छ । यसले असर गर्छ नै । उच्च हिमाली भेगमा हिमपातको सम्भावना भएको कारणले त्यो क्षेत्रमा पनि असर पर्ने जस्तो देखिन्छ ।' 

जल तथा मौसम विज्ञान विभागले शून्यदेखि १० मिलिमिटरसम्मको वर्षालाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा तथा १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी वर्षाका रूपमा वर्गीकरण गरेको छ ।

Share News