आगो लगाउनुपूर्व दोङले प्रहरी र गर्लफ्रेन्डलाई फोन गर्छु भन्दै सहचालकलाई उतारेका थिए

काठमाडौं । त्रिपुरेश्वरस्थित बसमा चालक अर्जुन दोङले आफू र बसलाई पेट्रोल छर्केर आफै आगजनी गरेको खुलेको छ । 

सोमबार बिहान ऋद्धिसिद्धि बसका चालक दोङ स्वयंले बस स्टप अगाडि शरीरमा पेट्रोल छर्केर आगो लगाएको खुलेको हो । 

बुधबार सहचालक रूपेश फुँयालले गाडीमा एक बोतल पेट्रोल रहेको प्रहरीसँगको बयानका क्रममा  उल्लेख गरेका छन् । 

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा उपस्थित भएर उनले प्रहरीसमक्ष गाडीका पार्टपुर्जा र रेन्चलगायतका औजार सफा गर्न राखिएको पेट्रोल छर्केर आगो लगाएका बयान दिएका हुन् ।

फुयाँलले प्रहरीसमक्ष घटनाअघि चालक र सहचालक सँगै रहेको पनि बताएका छन् । ्

उनले प्रहरीलाई दिएको बयानमा चालकले प्रहरी र आफ्नी गर्लफ्रेन्डसँग कुरा गर्ने भन्दै सहचालकलाई गाडीबाट बाहिर पठाएको उल्लेख गरेका छन् ।

फुँयाल नजिकै रहेको आँखा अस्पताल छेउको पसलमा गई चुरोट पिउँदै थिए । फर्किने क्रममा गाडीमा आगो लागेको देखेपछि दौडिएर घटनास्थल पुगेको उनले प्रहरीलाई बयान दिएका छन् । 

यसले गाडीभित्रै पेट्रोल रहेको कुरा पुष्टि गरेको कार्यालयका प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए । 

सोधपुछका क्रममा फुँयालले घटनाबारे मिडियामा सार्वजनिक भएको विषयभन्दा फरक कुनै नयाँ कुरा नखुलाएको खड्काले बताए ।

उनका अनुसार घटनाअघि हर्न बजाएको विषयमा विवाद भएको थियो । चालकले ‘बाइकलाई हटाउन हर्न’ दिएको विषयलाई लिएर चालकसँग विवाद भएको उनले बताएका छन् ।

सहचालक फुँयाल दोलखाका १९ वर्षीय युवक हुन् । उनले एसईई उत्तीर्ण गरेको भए पनि कक्षा ११ र १२ भने अध्ययन नगरेको प्रहरीलाई बयान दिएका छन् । 

सोमबार त्रिपुरेश्वरको बस स्टपमा ऋद्धिसिद्ध बसमा आगजनी भएको थियो । मंगलबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा चालक दोङको  उपचारकै क्रममा मृत्यु भएको थियो ।

आफैलाई आगो लगाउने चालकको नागरिकता थिएन, अरूकै लाइसेन्स लिएर बस चलाउँथे

Share News