मासु प्रशोधनमा काम गर्ने ८८ चिनियाँको भिसा रद्द

काठमाडौं । अध्यागमन विभागले नेपालमा ८८ चिनियाँको भिसा रद्द गरेको छ ।

सिन्धुलीको मरिण गाउँपालिकास्थित जियान फुड प्रालिमा कार्यरत चिनियाँले अन्य कम्पनीको नाममा बिजनेस भिसा लिएको भेटिएपछि विभागले रद्द गरेको हो ।

विभागले भिसाको उद्देश्यविपरीत अर्को कम्पनीमा काम गरेको पाइएपछि भिसा रद्द गरेको हो । 

उनीहरूलाई निष्काशनको प्रक्रिया अघि बढाइएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले जानकारी थिए ।

उनका अनुसार चिनियाँ लगानीमा मासु प्रशोधनसम्बन्धि कम्पनी सञ्चालनमा छ । तर, त्यहाँका चिनियाँले भने फर्जी कम्पनी खडा गरेर भिसा लिएको विषयमा उजुरी परेको थियो ।

अध्यागमन नियमावली, २०५१ मा व्यावसायिक भिसा प्राप्त गर्ने विदेशी नागरिकले जुन उद्देश्यका लागि भिसा प्राप्त गरेको हो, सोही उद्देश्यका साथ नेपालमा बस्नुपर्ने व्यवस्था छ ।

व्यावसायिक भिसालाई रोजगारी, श्रम वा अन्य असम्बन्धित कार्यका लागि प्रयोग गर्न मिल्दैन । 

अध्यागमन विभागले सबै विदेशी नागरिकलाई आफूले प्राप्त गरेको भिसाको उद्देश्य र शर्तबमोजिमका क्रियाकलापमा मात्र संलग्न हुन अनुरोधसमेत गरेको छ ।
 

Share News