सरकारले असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेलाको आयोजना गर्ने

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । 

मन्त्रालयमा बुधवार पत्रकार सम्मेलन गरी असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको ईटहरीमा मेला आयोजना गर्न लागेको जानकारी दिइएको हो । 

सीप विकास तथा रोजगारी प्रवर्द्धनका लागि सीप तथा रोजगार मेला राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्न लागिएको मन्त्रालयका सहसचिव एवं सीप तथा रोजगार मेलाका संयोजक हेमराज तामाङले बताए ।

मन्त्रालयले सातै प्रदेशलाई समेट्ने गरी सात चरणमा मेला आयोजना गर्ने तयारी उनको भनाइ छ । सोहीअनुसार पहिलो चरणमा कोशी प्रदेशको इटहरीमा मेला आयोजना गर्न लागेको उनले बताए ।

उनका अनुसार सरकारले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्ने उद्देश्यले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने नीति लिएको छ । 

सोही नीतिअनुसार मन्त्रालयले मेलामार्फत सीप सिक्न इच्छुक व्यक्तिलाई आवश्यक सीप विकासको अवसर उपलब्ध गराउने तथा सीप हासिल गरिसकेका जनशक्तिलाई रोजगारदाताको मागअनुसार रोजगारीसँग जोड्ने गरी मेलाको आयोजना गर्न लागेको हो । 

मेलामा जब प्लेसमेन्ट तथा रोजगारदाता र श्रमिकबीच सीपअनुसारको मिलान गर्ने व्यवस्था गर्ने उनले बताए ।

मेलामा उद्योग, सेवा, कृषि, निर्माण लगायतका विभिन्न १० विधामा जम्मा ६५ वटा स्टलहरु रहने छन् । मेलाले उद्योगको आवश्यकता, श्रम बजारको माग र सीपयुक्त जनशक्तिबीचको सम्बन्धलाई थप सुदृढ गर्ने विश्वास गरिएको छ । 

तीनै तहका सरकार, निजी क्षेत्र एवं विकास साझेदारको सहभागिता र सहकार्यमा कोशी प्रदेशमा सीप तथा रोजगार मेला सञ्चालन गर्न लागिएको हो । –न्युज एजेन्सी नेपाल

Share News