अत्यावश्यक बाहेक राति र टाढाको यात्रा नगर्न यातायात व्यवसायी महासंघको अनुरोध

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले असोज ८ देखि १२ गतेसम्म देशभर भारी वर्षा, बाढी र पहिरोको जोखिम रहने पूर्वानुमानलाई ध्यानमा राख्दै सार्वजनिक तथा मालवाहक सवारी सञ्चालनमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

महासंघले बुधबार सूचना जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागले जारी गरेको पूर्वसूचनाका आधारमा सदस्य संघ, समिति, कम्पनी, प्रालि, पर्यटक तथा सहकारी संस्थालाई सेवा सञ्चालनअघि सडक र मौसमको अवस्था अनिवार्य रूपमा जानकारी लिन अनुरोध गरेको हो ।

महासंघका अनुसार उक्त अवधिमा सार्वजनिक यात्रुवाहक र मालवाहक सवारी सञ्चालन गर्दा स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित निकायसँग समन्वय गरेर मात्रै सेवा सञ्चालन गर्नुपर्नेछ । चालक, सहचालक तथा बुकिङ कर्मचारीलाई पनि सम्भावित जोखिमबारे पूर्वजानकारी गराउन आग्रह गरिएको छ ।

महासंघले अत्यावश्यक कामबाहेक टाढाको र रातिको यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेको छ । साथै जोखिमयुक्त राजमार्ग र सडकमा डोजर, एक्साभेटर, लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्न तथा जिल्ला सुरक्षा समिति, स्थानीय तह र सुरक्षा निकायले जोखिममा रहेका बस्तीका नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि आग्रह गरेको छ ।

बाढी आउन सक्ने खोला, खहरे, नदी किनार र पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन महासंघले अनुरोध गरेको छ ।

महासंघले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता माग्न १२३४, नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बल नेपालको हटलाइन १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ । साथै मौसम विज्ञान विभाग र विपद् प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान र चेतावनी नियमित रूपमा हेर्न पनि अनुरोध गरिएको छ ।

Share News