फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ पेश गरिएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पेश गरेको उक्त विधेयकलाई सदनले विचारार्थ प्रस्तुत गर्न अनुमति प्रदान गरेको हो । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गरे ।

मन्त्री लम्सालले सो विधेयक प्रस्तुत गर्न अनुमति माग्दै पेश गरेको प्रस्तावमाथि कुनै पनि सदस्यबाट विरोधको सूचना नपरेपछि सभामुखले विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए ।

विधेयक पेश गर्दै मन्त्री लम्सालले फोहोरमैलाको उत्सर्जन, संकलन, विसर्जन र समग्र व्यवस्थापनमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको भूमिका र जिम्मेवारीलाई थप स्पष्ट पार्न आवश्यक रहेको बताए । उनले तीन तहका सरकारबीच प्रभावकारी समन्वय कायम गर्दै स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्न यो विधेयक अपरिहार्य रहेको उल्लेख गरे ।

विधेयकको मुख्य उद्देश्य फोहोरमैलाबाट मानव स्वास्थ्य र वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्नु रहेको छ । साथै, चक्रीय अर्थतन्त्रको अवधारणालाई आत्मसात् गर्दै फोहोरमैला प्रशोधन गरी त्यसलाई स्रोत सामग्रीका रूपमा उपयोग गर्ने कानुनी आधार तयार पार्ने लक्ष्य राखिएको छ ।

Share News