काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी सनराइज बैंक लिमिटेडको ‘७% लक्ष्मी सनराइज डिबेन्चर २०९२’ सूचीकृत भएको छ ।
नेप्सेले लक्ष्मी सनराइज बैंकसँग १० वर्ष अवधि र वार्षिक ७ प्रतिशत ब्याजदर भएको उक्त डिबेन्चर सूचीकरण सम्झौता सम्पन्न गरेको जनाएको छ ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता डिबेन्चर सर्वसाधारणका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडमार्फत बिक्री खुला गरेको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार असोज १ गतेको निर्णय बमोजिम उक्त ऋणपत्र नेप्सेमा सूचीकृत गरिएको हो ।
नेप्सेका अनुसार ‘LSD92’ संकेतमा सूचीकृत यो डिबेन्चरको दोस्रो बजारमा कारोबार असोज ८ गतेदेखि सुरु हुनेछ ।
बैंकको प्रधान कार्यालय हात्तीसार, काठमाडौंमा रहेको छ । सूचीकरणपछि आवश्यक रजिस्ट्रार तथा ट्रान्सफर सेवा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वरबाट उपलब्ध गराइने नेप्सेले जनाएको छ ।